चट्याङ लागेर मकवानपुर, सप्तरी र उदयपुरमा गरी सात जनाको मृत्यु

Spread the love

काठमाडौं । बिहीबार मकवानपुर, सप्तरी र उदयपुरमा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ । मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु र एक जना घाइते भएका छन् ।

बुधबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका २ स्थित कालापानीका बुद्ध घिसिङकी १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको मृत्यु भएको हो । सम्झनाको घरमा बसिरहेको बेला चट्याङ लागेर घटनास्थलमै र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा गएराति नै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै स्थानीय पूर्णबहादुर जिम्बाका १४ वर्षीय छोरा किरण जिम्बा घाइते भएकोमा दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
त्यसैगरी सप्तरीमा बिहीबार बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङमा परेर सप्तरीको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । चट्याङ लागेर सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र सप्तकोशी नदी छेउमै २७ वर्षीय बेचन यादवको मृत्यु भएको छ । त्यस्तै, खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९, लक्षनपट्टीका ३० वर्षीया ललितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, राजगढ गाउँपालिका वडा नं. २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको बताइएको छ । त्यस्तै, उदयपुरमा चट्याङ लागेर बिहीबार एक जनाको मृत्यु भएको र छ भने अर्का एक जना घाइते भएका छन् । बिहान परेको पानीसँगै चट्याङ लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ वर्षीय कानुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१४ बुँदे माग पूरा नभए आन्दोलनमा उत्रिने होटल व्यवसायी महासंघको चेतावनी

२०७७ असार ११, बिहीबार ०७:५३
Spread the loveकाठमाडौं । होटल व्यवासायीहरुले १४ बुँदे माग राख्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । साना होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । कोरोना भाइरसको महामारीका कारण सबै होटल बन्द भएका तर सरकारले […]