काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा.युवराज खतिवडाले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टिन निर्माण समिति गठन भएको जानकारी दिएका हुन् ।
क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यसचिव गृह मन्त्रालयकै सहसचिव रहने र समितिको कामकारबाही पनि मन्त्रिपरिषद् बैठकले तोकेको प्रवक्ता खतिवडा बताउ । समितिलाई उपत्यकाका तीन जिल्लामा क्वारेन्टिन निर्माणस्थल खोज्ने र ६ हजार आइसोलेशन बेडको क्वारेन्टिन स्थल बनाउने जिम्मेवारी दिइएको छ । क्वारेन्टिनस्थलको सुरक्षा नेपाली सेनाले गर्ने, अन्य सुरक्षा निकायले स्वास्थ्य मापदण्ड क्वारेन्टिनमा पालना भए नभएको रेखदेख र अनुगमन गर्नुपर्नेलगायत जिम्मेवारी तोकिएको छ ।
अन्तर्राष्ट्रिय उद्धार उडानमार्फत स्वदेश फर्किएकालाई एकीकृत क्वारेन्टाइनमा लगेर राख्ने जिम्मेवारी दिइएको छ । क्वारेन्टिन बस्दाको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा क्वारेन्टिन स्थल रहेको स्थानीय तहलाई उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको मन्त्री खतिवडाले बताए ।
यसैगरी, वैदेशिक रोजगार कोषको खर्चमा उद्धार भएकाबाहेक क्वारेन्टाइनमा रहेकाको खर्च जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा क्वारेन्टिन रहेको स्थानीय तहलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलब्ध गराउने व्यवस्था मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए ।
बैठकले पीसीआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । खतिवडाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने बताए ।
सरकारले भदौं १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकिने जनाएको छ । त्यसका लागि उडान तालिका पर्यटन मन्त्रालयले प्रकाशित गर्नेछ । त्यस्ता उडानबाट आउने यात्रुले सात दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने, आफैंले खर्च बेहोर्नुपर्ने सरकारले जनाएको छ ।
बैठकले बाढी, पहिरोलगायत विपत्मा घाइते भएकाहरूको उपचार खर्च पनि सरकारले बेहोर्ने निर्णय गरेको छ । परिवारमा एक जना मृत्यु भए दुई लाख र अन्य सदस्यको पनि मृत्यु भए प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले थप दिइने खतिवडाले बताए ।