नयाँ जनादेशको बाटोबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकतावद्ध गरौं

Spread the love

शंकर पोखरेल ।
पार्टी एकताको रक्षाका लागि गरिएका प्रयासहरु किन असफल भए भनेर कमरेडहरु प्रश्न गर्नुहुन्छ । म कति कुरा बताउँ भनेर अन्योलमा पर्छु । प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिएँ जनार्दन शर्माको साथमा । त्यसदिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वकासाथ सुझाएको थिएँ । तर कमरेड प्रचण्ड त्यसप्रति एकरति पनि सकारात्मक देखिनु भएन । मेरोतर्फवाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनु भएन । उहाँ आफ्नो भित्री योजनामा निकै प्रतिवद्ध भइसक्नु भएको रहेछ । उहाँ सहमतिमा होइन, समीकरणको बाटोवाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ । नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम बेहोर्दै छौं ।

पार्टी एकता समयको माग र आवश्यकता थियो । दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा आफूलाई प्रस्तुत गर्नु भो । हामीले बैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि वढ्नु उचित हुने सुझाव दिएका थियौं । तर उहाँहरुले भावनात्मक कुरा गर्नु भो । हामीले त्यसलाई स्विकार गर्यौं । तर कमरेड प्रचण्डमा एकतालाई पूर्णतामा लैजाने कुरामा कुनै तत्परता देखिएन । भएको शक्तिसमीकरणका माध्यमवाट अघि वढ्ने कुरामा नै हमेसा रुची देखियो । तर आज आएर विचार गर्दा पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो । तर पनि यसले दुई फरक आन्दोलनका प्रवृत्तिहरुलाई अन्तरघुलन हुने अवसर भने प्रदान गरेको छ । एकातिर कमरेड केपीको साथमा रामवहादुर थापा वादल हुनुहुन्छ अर्कोतिर पुष्पकमल दाहाल प्रचण्डको साथमा माधवकुमार नेपाल । यसले पनि नयाँ शिरावाट आन्दोलनलाई पूनर्गठन गर्ने अवसर प्रदान गरेको छ ।

नेपाली राजनीतिमा पुरानो पुस्ताले अधिकार प्राप्तिको लडाईंमा ऐतिहासिक भूमिका निर्वाह गरेकै हो । नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले एउटै पुस्ताले तीनवटा क्रान्तिको नेतृत्व गरेको कुरा सगौरव चर्चा गर्नुहुन्थ्यो । वास्तवमा क्रान्तिको इतिहासमा यो अनुपम कुरा नै थियो । तर दुनियाँमा एउटा क्रान्तिवाट युगको परिवर्तन हुन्छ । तर हामी कहाँ तीनवटा क्रान्ति पछि पनि युग परिवर्तनको आभाष दिन सकिएको छैन । यस्तो किन ? पुरानो पुस्ताका नेताले खोज्ने कोशिस कहिले गर्नु भएन ।

कमरेड केपीले त्यसको समाधान दिने प्रयास के गर्नु भएको थियो । उहाँलाई चारैतिरवाट घेरावन्दी गरियो र अपमानजनक हिसावले पार्टी र आन्दोलनवाट वाहिर पठाउने कोशिस गरियो । कमरेड केपी ओलीको प्रतिनिधिसभा विघटनको घटनालाई सोही परिपेक्षमा हेर्नु पर्दछ । यो एक प्रकारले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्धमा कमरेड केपी शर्मा ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो । नयाँ युगतर्फको पाइला हो ।

नेकपा भित्र कमरेड केपी शर्मा ओलीलाई एकता निर्माणमा असफल भएको आरोप लगाइएको छ । मेरो विचारमा नेपालका पार्टी निर्माणमा देखिएको जडताको परिणाम हो यो । नौ सदस्यीय सचिवालयमा सात जना पार्टी प्रमुख हुनु र चार जना पूर्वप्रधानमन्त्री हुनु आफैंमा एकता निर्माणको चुनौती थियो । पश्चिमा मुलुकहरुले राजनीतिमा आउनसक्ने यस प्रकारको अवस्थाको समाधान पहिले नै खोजेका थिए । समाजवादी चीनले पनि त्यसको समाधान खोजिसकेको छ । तर हामीले पद्धतिगत सुधारको साटो व्यवस्थापनमा जोड दियौं र आजको संकटलाई आमन्त्रण गरौं ।

मेरो विचारमा पार्टी पद्धतिमा सुधारको प्रयास नगर्ने हो भने पुनर्गठित पार्टीहरु भित्र पनि भविष्यमा यही प्रकृतीको समस्या नआउला भन्न सकिन्न । अहिले प्रचण्ड र माधव कमरेडहरुका बीचमा चलिरेहको छलफलले पनि त्यही संकटलाई संकेत गरिरहेको छ ।

कतिपय कमरेडहरु नयाँ शिरावाट एकताको पहल गर्न अनुरोध गरिरहनु भएको छ। त्यो पहलकदमीका लागि यस्ता कुरामा मतैक्यताको आवश्यकता पर्दछ ।

आजको संकटको कारण प्रतिनिधिसभाको विघटन हो या दुई तिहाईको जनादेशलाई र पार्टी एकताको भावनालाई आत्मसात गर्न नसक्ने कुरा हो भन्नेमा हाम्रा बीचमा विमती रहेछन् । प्रतिनिधिसभा विघटन परिणाम हो । कारण होइन । कारण त हाम्रो पार्टी प्रणालीमा छ र त्यसमा सुधार नै नयाँ एकताको आधार हो ।

आउनुहोस् नयाँ जनादेशको बाटोबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकतावद्ध गरौं । पार्टी पद्धतीको सुधारका माध्यमवाट नयाँ युगको सारथीको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ गरौं ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बायर्न म्युनिख दोस्रो चरणबाट बाहिरियो

२०७७ माघ १, बिहीबार ०७:४३
Spread the lovemoreजर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिख दोस्रो श्रेणीको होल्सटिन किइलसँग सडनडेथमा पराजित हुँदै डिएफबी पोकलको दोस्रो चरणबाट बाहिरिएको छ । बायर्न सडनडेथमा होल्सटिनसँग ६–५ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । निर्धारित समय र थप गरिएको समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको […]