काठमाडौँ । पीसीआर परीक्षण नै नगरी नेगेटिभ विवरण उल्लेख गरेर स्वास्थ्य रिपोर्ट बनाएको आरोपमा काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक खेलानन्दप्रसाद सिंहसहित आठ जना पक्राउ परेका छन् । नेगेटिभ नतिजा उल्लेखित ४ वटा नक्कली पीसीआर रिपोर्ट पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझी, प्रमोद कुमार यादव, प्रदीप कुमार गिरी, अमन कुमार यादव, वजेश पोख्रेल, बादल मिरिङ छिङ, सरोज क्षेत्री र डा.खेलानन्द प्रसाद सिंह छन् । महानगरीय अपराध महाशाखाबाट एसपी कृष्ण पंगेनीको नेतृत्वमा प्रहरी टोलीले सिंहको ल्याबमा छापा मारेको थियो ।
महानगरीय अपराध महाशाखाका अनुसार सिंहले उक्त ल्याबबाट गरेका सबै पीसीआर रिपोर्टबारे पनि अनुसन्धान थालिएको जनाएको छ । नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको उजुरीपछि केही दिनयता ल्याबमाथि अनुसन्धान भइरहेको र प्रमाण फेला परेपछि सिंहलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।