
बुटवल । आजका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो ।
अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आजै बैठक अन्त्य गरेका हुन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय र मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा मध्यान्ह १२ बजे नै विशेष अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको पत्रमा उल्लेख छ ।
प्रदेश प्रमुखको पत्र आएपछि प्रदेश सभा सदस्यहरुले बोलाएको विशेष अधिवेशन मुख्यमन्त्रीको सिफारिसमा अन्त्य गर्ने प्रक्रिया नमिलेको भन्दै सभामुख पूर्णबहादुर घर्ती प्रदेश प्रमुखसँग छलफलका लागि गएका थिए ।
तर प्रदेश प्रमुखले त्यसलाई विषय नबनाउन आग्रह गरेपछि अधिवेशन अन्त्यको सूचना टाँसिएको हो । प्रदेश प्रमुखबाट मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेको संसदीय दलको बैठकले पुनः पोखरेलकै नेतृत्वमा संविधानको धारा ६८ उपधारा १ बमोजिम बहुमतको सरकार बनाउने निर्णय गरेको छ ।
लुम्बिनीमा एमालेका ४१ जना प्रदेशसभा सदस्य छन् । जसपाका ४ र माओवादी केन्द्रका २ सांसद निस्कासनमा परेपछि अहिले प्रदेशसभा ८१ सदस्यमा खुम्चिएको छ । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छन् जुन एमालेमा मात्रै छन् ।