
माधवकुमार बस्नेत ।
साँची राष्ट्रपति, प्रधानमन्त्री र यिनका औपचारिक तथा अनौपचारिक सल्लाहकारहरूले संविधान कुन संविधान पढ्छन् होला ? राष्ट्रपति कार्यालयको हिजो सँझको विज्ञप्तिअनुसार प्रधानमन्त्रीले (त्यहाँ नेपाल सरकार भनिए पनि मैले कुनै कारणले नलेखेको हो) धारा ७६ (५) को प्रक्रिया अपनाउन राष्ट्रपतिलाई अनुरोध गरेछन् । राष्ट्रपतिलाई प्रधानमन्त्रीले लेखेपछि पुगिहाल्य । संविधान पढ्ने र संविधानबमोजिम काम गर्ने उहाँको कर्तव्य नै सोच्नु भएको छैन । त्यहीअनुसार हतार हतार सूचना प्रकाशन गर्नुभयो ।
प्रधानमन्त्रीले अहिलेसम्म राजीनामा दिएको जानकारी सार्वजनिक भएको छैन । धारा ७६ (५) को प्रयोग पनि प्रधानमन्त्रीको पद खाली भएमा मात्र प्रयोग हुने हो । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर प्रश्न उठेपछि अहिले प्रधानमन्त्रीका औपचारिक र अनौपचारिक सल्लाहकारहरू (किन “ताबेदार” लेखूँ ?) धारा ७६ (५) को प्रकृया अपनाउन भनेपछि स्वतः भइहाल्यो नि भन्ने किसिमले सामाजिक सञ्जालमा सम्प्रेषण गरिरहेका छन् ।
प्रधानमन्त्रीको नियुक्तदेखि पद रिक्ततासमेत संविधानमा नै छ भन्ने पनि यिनले थाहा पाएनछन् । प्रधानमन्त्रीको पद रिक्त हुनको लागि धारा ७७ (१) अनुसार कि राजीनामा दिनुपर्छ कि विश्वासको प्रस्तावमा पारित नभएको हुनुपर्छ वा अविश्वासको प्रस्ताव पारित हुनुपर्छ कि प्रधानमन्त्रीको प्रतिनिधि सभाको सदस्यता समाप्त हुनुपर्छ कि मृत्यु हुनुपर्छ । नत्र रिक्त भएको भन्ने संविधानले मान्दैन । धारा ७७ (३) यिनै कारणले प्रधानमन्त्रीको पद रिक्त भए मात्र सरकार काम चलाउ हुने र अर्को मन्त्रिपरिषद् गठन हुने बाटो खुल्ने बुझिन्छ । राजीनामा नदिएर संवैधानिक प्रक्रिया अड्काएर बस्ने अनि धारा ७६ (५) को प्रक्रिया अपनाउन राष्ट्रपतिलाई अनुरोध गरेपछि स्वतः भइहाल्यो भन्ने किसिमले सन्देश दिन खोजिराखेका छन् । राष्ट्रपति, प्रधानमन्त्री र यिनीहरूका औपचारिक अनौपचारिक सल्लाहकारहरूले कुन संविधान पढ्छन् ? यिनले पनि बादशाहका नयाँ लुगा भेट्टाएर लगाएकी क्या हो ?