अमेरिकी र रुसी राष्ट्रपतिले जेनेभामा भएको उनीहरूको वार्ताको प्रशंसा गरेका छन् । तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गर्दै रुसले नयाँ शीतयुद्ध नचाहेको बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले समान धारणा राखेको बताए ।
दुई नेताहरू बीचको छलफल झन्डै तीन घण्टा चलेको थियो । वार्ताका लागि त्यो भन्दा बढी समय छुट्याइएको भएपनि बाइडनले आफूहरूलाई थप समय नचाहिएको र रुससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको बताए । रुसी नेताका लागि बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार स्वरूप लिएर आएका थिए ।
पुटिनले बाइडनलाई उपहार दिए वा दिएनन् प्रस्ट भइसकेको छैन । सन् २०१८ मा हेलसिन्कीमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्दा उनले फुटबल उपहार दिएका थिए । दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएका छन् । उनीहरूले एक अर्काका देशमा राजदूतहरू पठाउने पनि निर्णय गर्ने छन् ।
सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए ।
तर साइबर सुरक्षा, युक्रेन र हाल अढाई वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नभाल्नीको भविष्य जस्ता विषयमा सहमति भएका कुनै सङ्केत देखिएनन् । नभाल्नीको जेलमा ज्यान गए त्यसले रुसका लागि ’भयावह परिणाम’ निम्त्याउने बाइडनले चेतावनी दिए । शिखर बैठकअघि दुवै पक्षले आपसी सम्बन्ध हालसम्मकै न्यून बिन्दुमा पुगेको बताएका थिए।
पुटिनले बन्दीहरू साटासाटबारे सहमति हुनसक्ने सङ्केत गर्दै सम्झौतामा पुग्न सकिने सम्भावना औँल्याएका थिए । साइबर हमलाहरूका विषयमा पुटिनले रुस जिम्मेवार नभएको उल्लेख गर्दै आफ्नो देशलाई लक्षित गरी गरिने त्यस्ता अधिकांश हमलाको मूल श्रोत अमेरिका भएको बताए ।
बाइडनले संवेदनशील पूर्वाधार जस्तै पानी वा इन्धनमा कुनै किसिमको ह्याकिङ वा आक्रमण अस्वीकार्य हुने र त्यसको प्रतिकार गरिने बताए । हालै २४ दिन भोक हड्तालमा बसेका नभाल्नीका बारेमा अमेरिकी सरोकार खारेज गर्दै पुटिनले उनले कानुन मिचेको र जेल सजाय हुने आफू स्वयंलाई थाहा भएको बताए ।
केही समय पहिले जर्मनीमा उपचार गराएर रुस फर्किएका नभाल्नीले आफूलाई पुटिनको आदेशमा स्नायु प्रणालीमा असर गर्ने विष दिइएको बताउने गरेका छन्। त्यसलाई रुसी राष्ट्रपतिले अस्वीकार गर्दै आएका छन् । रुसले आफ्नो भूमिमा अस्थिरता नचाहेको उल्लेख गर्दै पत्रकार सम्मेलनमा पुटिनले रुस परमाणु शक्ति भएको बारम्बार दोहोर्याएका थिए ।