काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिए सँगै नेताहरुले आ–आफ्नो समुहको भेला तथा बैठकहरुलाई तिव्रता दिएका छन् ।
शुक्रबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला काठमाडौंको एक पार्टी प्यालेसमा भएको छ । भेलामा वरिष्ठ नेता पौडेल सहित महामन्त्री शशांक कोइराला, डा. शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी लगायत केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।
भेलाले कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा क्रियाशिल सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिएको तथा सहमतिको उम्मेदवार छान्नका लागि ढिला गर्न नहुने सुझाव आएको नेता प्रकाशमान सिंहले जानकारी दिए ।
नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुंगो लगाउनुपर्ने र जस्तो खालको परिस्थिति आएपनि सहमति निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको बताए । आफ्नो समूहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफलबाट निर्णय गरिने उनले बताए ।
कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यसँग चरणबद्ध रुपमा छलफल थालेका छन् ।
पछिल्लो पटक सभापति देउवा निकट मानिएका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने तयारी थालेका छन् । संशोधित कार्यतालिकानुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।
त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ ।