
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुन सांसदले कसलाई भोट हाल्छ भनेर हेर्ने काम राष्ट्रपतिको हो त ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ क्रममा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेललाई प्रधानन्यायाधीशले यस्तो प्रश्न गरेका हुन् । प्रधानन्यायाधीशको प्रश्न थियो, ‘राष्ट्रपतिको काम कर्तव्यको दायित्वभित्र कुन सदस्यले भोलि कसलाई भोट हाल्छ कि हाल्दैन भनेर हेर्ने हो र ?’
खरेलले प्रतिनिधिसभा विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगर्नु सही रहेको तर्क गरिरहेका बेला प्रधानन्यायाधीश जबराले यस्तो प्रश्न गरेका हुन् । प्रधानन्यायाधीश जबराले शेरबहादुर देउवाले दाबी गर्दा पार्टी, अन्य सांसदसहित १ सय ४९ जनाको हस्ताक्षर लिएर दाबी गर्न जानुभयो, यसमा शेरबहादुर देउवाले के गल्ती गर्नुभयो ?’ भन्दै खरेललाई प्रश्न गरे ।
संविधानको धारा ७६ को उपधारा ५ र २ अनुसार प्रधानमन्त्री दलको समर्थनमा मात्रै हुने भनी विपक्षीले बहस गरिरहेको भन्दै प्रधानन्यायाधीशले खरेललाई ती दुई व्यवस्थामा भिन्नता के हो भनेर व्याख्या गर्न पनि भनेका थिए । बहसका क्रममा पूर्वमहान्यायाधिवक्ता समेत रहेका खरेलले ह्वीप लगाएपछि एमाले सांसदले शेरबहादुर देउवाका पक्षमा मत दिन नसक्ने बताए।
त्यसपछि प्रधानन्यायाधीश जबराले फेरि सोधे, ’ह्वीप लगाउनु अनिवार्य हो र ? एमालेले नलगाएको परिस्थितिमन के होला?’