ब्रिट्नी स्पियर्सको सम्पत्तिको संरक्षक बाबु नै रहने

Spread the love

एक अमेरिकी न्यायाधीशले चर्चित गायिका ब्रिट्नी स्पियर्सको बाबुलाई उनको संरक्षकबाट हटाउने माग अस्वीकार गरेका छन् । गत वर्ष नोभेम्बरमा स्पियर्सका वकिलले लस एन्जलिसको अदालतमा जेमी स्पियर्सलाई गायिकाको संरक्षकबाट हटाउन याचिका दायर गरेका थिए ।

गायिका स्पियर्स आफ्नो बुबाबाट डराएको र त्यसैले सन् २००८ देखि एकल संरक्षकको भूमिकामा रहेका उनलाई हटाउन चाहेको बताइएको थियो । स्पियर्सको अनुरोधलाई अस्वीकार गरिए पनि त्यो निर्णय गायिकाले गत साता अदालतलाई दिएको २३ मिनेट लामो विस्फोटक बयानको सुनुवाइ नभएको बताइएको छ ।

स्पियर्सले अदालतलाई आफूलाई लागु औषधि दिइएको, इच्छा विपरीत सांगीतिक कार्यक्रम गर्न बाध्य पारिएको र सन्तान जन्माउन नदिएको बताएकी थिइन् । न्यायाधीश ब्रेन्डा पेनीले स्पियर्सको यो विषयमा आदेश दिन सक्दिनन् किनभने त्यसका लागि स्पियर्सले मुद्दा दायर गर्नुपर्छ । बुधवारको निर्णय नोभेम्बरमा गरिएको अनुरोधसँग मात्रै सम्बन्धित छ ।

न्यायाधीशले जेमी स्पियर्सलाई हटाउन अस्वीकार गरे पनि स्पियर्सले प्रस्ताव गरेको निजी सम्पत्ति व्यवस्थापन कम्पनी बेस्सेमर ट्रस्टलाई सह–संरक्षक बनाउन भने स्वीकृति दिएकी छन् ।

जेमी स्पियर्सका वकिलहरूले भने अदालतलाई गायिकाको दुर्व्यवहार आरोपको अनुसन्धान गर्न माग गरेका छन् । अदालतमा स्पियर्सले दिएको बयानको अडियो सार्वजनिक भएपछि अदालतले पत्रकारहरूलाई अदालतको कामकारबाही इन्टरनेटमार्फत हेर्न दिने व्यवस्था खारेज गरेको छ।

गायिका ब्रिटनी स्पियर्स ‘आफ्नो जीवनलाई १३ वर्ष नियन्त्रणमा राखेको दुर्व्यवहारपूर्ण संरक्षकत्व’ प्रति आक्रामक रूपमा अदालतमा प्रस्तुत भएकी थिइन् । खुला अदालतमा पहिलो पटक बयान दिने क्रममा पप स्टार स्पियर्सले आफ्नो पिताले आफूलाई शतप्रतिशत नियन्त्रणमा राखेको बताएकी थिइन् ।

उनले आफ्नो थप सन्तान जन्माउन पाउने अधिकार खोसिएको र इच्छा विपरीत मानसिक रोगको औषधि दिइएको आरोप लगाएकी थिइन् ।

बीस मिनेट लामो भिडियो बयानमा स्पियर्सले भनिन्, ‘म यो संरक्षकत्व अन्त्य गर्न चाहन्छु। मैले जीवनभर काम गरेँ र म जीवन चाहन्छु। म दुईदेखि तीन वर्ष बिदामा बस्न चाहन्छु।’ दुई सन्तानकी आमा स्पियर्सले आफूले प्रेमीसँग विवाह गरेर अर्को सन्तान जन्माउन चाहेको तर संरक्षकत्वको प्रावधानका कारण त्यसो हुन नसकेको बताइन्। उनले संरक्षकले अस्थायी बन्ध्याकरण उपकरण हटाउन नदिएको आरोप लगाइन्।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्यानडाको अत्यधिक गर्मी बढेको गाउँमा जताततै डढेलो

२०७८ असार १८, शुक्रबार ०९:२६
Spread the loveएउटा जङ्गली डढेलोले क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भागमा असर पुर्याएको स्थानीय सांसद् ब्राड भिसले बताएका छन् । डढेलोले ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पुर्याएको उनले बताएका हुन् । लीटनका मेयर ज्यान पोल्डरम्यानले पनि जीवन जोगाउन सकेकोमा आफू भाग्यमानी भएको […]