अमेरिकाले अन्तरिक्षका टाढाका वस्तुहरूको निगरानी गर्न वेलायतमा एउटा ठूलो राडार प्रणाली राख्न चाहेको छ । अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६ हजार किलोमिटर परसम्मका सम्भावित निशानालाई पहिचान गर्ने बताइएको छ । अन्तरिक्षको त्यस्तो भित्री भागमा धेरै सैन्य भूउपग्रहहरू राखिएका छन् ।
अमेरिकाले त्यस्तो प्रणाली टेक्सस र अस्ट्रेलिया पनि राख्ने योजना बनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले नयाँ रडारको क्षमताले अन्तरिक्षलाई अझ बढी सुरक्षित गराउने जनाएको छ । अन्तरिक्षमा भूउपग्रहहरू धेरै हुँदा भिडभाड बढेको साथै शस्त्रको प्रतिस्पर्धा बढिरहेको भनिएका बेला अमेरिकाले यस्तो चाहेको हो ।
अमेरिका र वेलायत दुवैले रुस र चीनलाई भूउपग्रहलाई हानि पुर्याउन सक्ने हतियार विकास गरिरहेको आरोप लगाएका छन् । गतवर्ष मात्र एक हजार भन्दा धेरै नयाँ भूउपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गरिएका थिए । तीमध्ये १० भूउपग्रह अमेरिकी सेनाका थिए । डीएआरसी भनिने अन्तरिक्षको निकै टाढासम्म निगरानी गर्ने परिष्कृत रडार क्षमताको विकास यूएस स्पेस एण्ड मिसाइल सिस्टम्स सेन्टरमा भइरहेको छ ।
क्यालिफोर्नियामा रहेको उक्त केन्द्रमा रक्षामन्त्री बेन वालेस र वेलायतका रक्षा प्रमुखले यसै साता भ्रमण गरेका थिए । उनीहरूले इलोन मस्कको अन्तरिक्ष यात्रा कम्पनी स्पेसएक्ससँग समेत बैठक गरेका थिए ।
अमेरिकी अन्तरिक्ष बलका लेफ्टिनेन्ट कर्णेल ज्याक वालकरले अमेरिकाले त्यस्ता रडारहरू स्कटल्याण्ड वा थप दक्षिणतर्फ राख्नेबारे वेलायतसँग छलफल गरिरहेको बताएका छन् । उनले त्यस्तो रडाल प्रणालीका लागि एक वर्गकिलोमिटरको क्षेत्रफल चाहिने बताए ।
कर्णेल वालकरले त्यस्तो प्रणालीको उद्देश्य उच्च मूल्यका सम्पत्तिमा पर्न सक्ने सम्भावित जोखिमको पहिचान गर्दै निशाना साँध्ने रहेको बताएका छन् । अमेरिकाको क्षेप्यास्त्र पहिचान गर्न अन्तरिक्षमा एउटा पूर्वसूचना प्रणाली छ । तर उक्त रडार प्रणालीले २० हजार किलोमिटर टाढाको वस्तु मात्र पहिचान गर्न सक्छ । तर नयाँ डीएआरसी प्रणालीले एउटा फुटबल मैदान जत्रो आकारका वस्तु अझ परसम्म हेर्न सक्नेछ ।