
काठमाडौं । वायुसेवा संचालक संघले बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी संघले उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि उडान ठप्प पार्ने निर्णय लिएको जनाएको हो । संघले पाँच बुँदे माग अघि सार्दै . माग सम्बोधन नभएसम्म उडान रोक्ने बताएको छ ।
विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ । संघले नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि सरकारले यथाशीघ्र पहल हुनुपर्ने माग गरेको छ ।