
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मूल्यवृद्धि, मल अभाव लगायतका जनजीविकाका विषयमा आन्दोलन गर्ने भएको छ। राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मूल्यवृद्धि नियन्त्रण लगायतका मागसहितको ज्ञापनपत्र बुझाएको थियो। त्यसमा समेटिएका मागहरु पूरा हुनुपर्ने माग राप्रपाको छ।
पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो। राप्रपाले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, रासायनिक मलको अभाव लगायतका विषयमा आन्दोलन गर्ने जनाएको छ।
राप्रपाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ। त्यस्तै असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बीमा लगायतका मागसहित श्रममन्त्रीलाई ज्ञापन पत्र पेस गर्न, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा असार २४ गते धर्ना दिने र कोणसभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।