
काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइराला पक्षका नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब दिने भएका छन् । बिहीबार काठमाडौंमा भएको कोइराला पक्षीय नेताहरुको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निस्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरुमा छलफल भएको जानकारी दिए ।उनले भने, ‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै गएको महंगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ । पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ । बैठकमा रचनात्मक विद्रोहको पनि कुरा भएको छ । हाम्रो विचार समूहलाई कसरी लैजाने भन्ने कुरामा सबैभन्दा महत्वपूर्ण छलफल भएको छ ।’
कोइराला पक्षले पार्टी नेतृत्वले सरकारमा व्यस्त भएको देखाएर पार्टी बैठक नगरेको आरोप लगाएको छ । भेलाले महाधिवेशपछिको ६ महिनामा जसरी पार्टी चल्नुपर्थ्यो त्यसरी चल्न नसेको ठहर गरेको छ ।
त्यस्तै स्थानीय तहको निर्वाचनपछि पार्टीमा समीक्षा हुनुपर्ने भएपनि त्यसतर्फ ध्यान नै नदिइएको कोइराला पक्षको निष्कर्ष छ । भण्डारीले पार्टी सभापति देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताए । अन्य पार्टीले मन्त्रिपरिषद्मा हेरफेर गरेपनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्नसमेत नसकेको उनको भनाइ छ । बैठक शुक्रबार पुनः बस्ने छ ।