काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । आजै नेपाल आइपुगेका हुन् ।
भेटवार्तामा दुई पक्षीय सम्बन्धबारे चर्चा भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटपछि जियानचाओले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम छ। परराष्ट्रमन्त्री खड्काले उनको सम्मानमा होटल मेरियटमा रात्रिभोज आयोजना गरेका छन् । गत जुनमा सिपिसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका हुन् ।
नेपाल भ्रमणअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री खड्कासँग भर्चुअल संवाद गरेका थिए । भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम छ।