
केशवप्रसाद भट्टराई ।
१. कम्युनिस्टहरूको एकता प्रयासलाई काङ्ग्रेसलाई एक्लो बनाउने षड्यन्त्र भनेर काङ्ग्रेस नेता रामचन्द्र पौडेलले कतै भन्नु भएछ । कम्युनिस्टहरू मिल्दा षड्यन्त्र देख्ने र बुझ्ने सोच पो काङ्ग्रेस र कम्युनिस्ट दुवै विरुद्धको षड्यन्त्र होला । उनीहरू फुटुन्, बाझाबाझ गरेर बसुन र काङ्ग्रेसलाई सुती सुती सत्ता सुख मिलोस् भन्ने सोच पनि कतै उन्नत राजनीतिक सोच हुन्छ ?
यसरी काङ्ग्रेस चल्छ ? बाँच्छ ? समान आस्था र विश्वासका दलहरू एक भएर हिँड्नु, चुनावी एकता गर्नु र सके एउटै पार्टी बनाउनु स्वागत योग्य कुरा हो । आफ्ना मूल्य, आदर्श र विश्वासलाई परित्याग गरेर, संगठनको शक्ति निर्माण नगरेर, काङ्ग्रेसको कम्युनिष्टीकरण गर्ने, कम्युनिस्टहरूको बल र भरमा सत्ता सुखमा आजीवन लडिबुडी गर्ने कथित काङ्ग्रेसी नेताहरूको मायाले कम्युनिष्टहरू एक नहुन् त ? होउन् ! मुलुक प्रष्ट कम्युनिष्ट गैर कम्युनिस्ट ध्रुवमा रहोस् । अवसरवादी नै हुन् भने पनि अवसरवादीहरू पनि एक भएर जाउन न त । काङ्ग्रेस अवसरवादी हुन हुँदा उनीहरू किन नहुने ?
२. आफ्ना कार्य र उपलव्धिका आधारमा जनताले कुन विचार र कुन दल ठिक भनेर छुट्याउने बलियो र प्रष्ट आधार निर्माण होस् । नेपाली जनताले पनि पश्चिम बंगालका जनताले जस्तै स्पष्टसँग कम्युनिष्टहरूलाई चिनुन । अनि मुलुकमा प्रजातान्त्रिक स्थिरता प्राप्त हुन्छ । उनीहरूले झन्डै दुई तिहाइको सरकार बनाउँदा पनि स्थीर सरकार दिन नसक्ने त प्रष्ट भैसक्यो । तैपनि एकताको ढाँट र ढोंग जारी छ ।
३. कम्युनिष्टहरू , काङ्ग्रेस र अन्य प्रजातान्त्रिक दलहरू नेपाली जनतालाई शिक्षा र अनुभव अझै पुगेको छैन । शरीरको कुन अंग वा तन्तुले अनुभवहरूलाई शिक्षामा अनुभूत गराउँछ त्यो त थाहा छैन तर शायद कम्युनिष्टहरूमा त्यो अङ्ग वा तन्तु ? नत्र खण्डित जनादेशको बलमा राज्य चल्नु हुँदैन, नयाँ जनादेशमा जानुपर्दछ, तीन महिना पछि चुनाव र पार्टीको अधिवेशन गरौँ म प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा दावी गर्दिन भन्दा त्यसलाई प्रतिगमन, संविधानविरुद्धको षड्यन्त्र बुझ्नेहरू अन्ततः केपी ओलीको शरणमा पुगेको हामीले हेर्न पाउनु पर्दछ । तिनीहरूको वैचारिक स्खलन र स्वाभिमान शून्य व्यक्तित्व जनतामाझ अझ स्पष्ट हुनु पर्दछ । प्रचण्ड, वामदेव वा माधव नेपालहरू भएर निर्माण हुने कुनै संयन्त्र र संरचनाले दुई वर्ष विधि र प्रक्रिया अनुसार त चलेको देखाउन सकुन् । एमाले बाहेकको कम्युनिष्टहरूको एकता हो भने त्यसको शक्ति र प्रभाव जनतामा कति रहेछ, त्यो पार्टी कसरी अघि बढ्दो रहेछ त्यो पनि प्रष्ट हुने छ । अर्को कुरा त्यस्तो एकताले कम्युनिष्ट पार्टीहरू भित्रको प्रजातान्त्रिक र गैरप्रजातान्रिक विचार र समूहबीच निर्माण हुने अन्तरद्वन्द्वलाई फराकिलो पार्ने छ र त्यो प्रजातन्त्रको पक्षमा हुने छ ।
४ . त्यसकारण त्यस्तो एकता सफल होस् । कम्युनिष्टहरूलाई एकता र एकीकरणको लागि शुभकामना !