
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समितिको प्रतिवेदन तथ्यमा आधारित नभएकाले त्यसलाई स्वीकार गर्न नसकिने र नेपाली जनताले अस्वीकार गर्नुपर्ने बताएका हुन् ।
उनले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दायरा हेरफेर गराउने अर्थमन्त्री जनार्दन शर्माविरुद्धको मुद्दा अन्तर्राष्ट्रिय मुद्दा बनाउनुपर्नेसमेत बताए ।
उनले भने,‘छानबिन गरौं भन्दा किन गर्ने ? उल्टै किन फुटेज देखाउने ? कल डिटेल हेरौंभन्दा हेर्न हुँदैन भने । यो देशको विरुद्ध अपराध हो। देशको अर्थतन्त्रका विरुद्धको अपराध हो। एकात घरानालाई पोस्नका लागि उद्योग र अर्थतन्त्रलाई धरासायी पार्ने, जानी–जानी अपराध गरिएको छ। यस्तो अपराध मामुली कुरा होइन। ।’
अध्यक्ष ओलीले संसदीय समिति सत्ता गठबन्धनकै बहुमत पुग्नेगरी बनाएको आरोपसमेत लगाए। उनले भने,’समितिका ७ जनाले प्रमाणित हुनै दिएन।न् यो त संसदमै हुन्छ, हुन्न भनेको भए भइहाल्थ्यो। गठबन्धनसँग बहुमत छँदैछ।’ उनले देश बर्बादीमा जान लागेको भन्दै त्यसलाई रोक्न आगामी निर्वाचनमा एमालेको बहुमत आवश्यक भएकाले त्यसका लागि खटिन नेता कार्यकर्तालाई निर्देशन दिए ।