
चीनले समानसहित आफ्नो अन्तरिक्ष केन्द्रमा पठाएको एउटा रकेटको भग्नावशेष अन्तरिक्षबाट पृथ्वीमा खसेको अमेरिकी र चिनियाँ अधिकारीहरूले बताएका छन् ।
उनीहरूका अनुसार लङ मार्च फाइभबी रकेटका भग्नावशेषहरू हिन्द महासागर र प्रशान्त महासागरमा खसेका हुन् । चिनियाँ अन्तरिक्ष निकायका अनुसार उक्त रकेटको अधिकांश भग्नावशेष वायुमण्डलमा जलेको थियो। प्रशान्त महासागरस्थित सुलु सागरमा रकेटको मुख्य भाग अवतरण गरेको उसले जनाएको छ ।
अन्तरिक्षविज्ञहरूले उक्त रकेट मानवबस्ती भएको स्थानमा खस्ने सम्भावना निकै कम भएको यसअघि बताएका थिए । रकेटको ’कोर स्टेज’ भनिने आधारभूत संरचना यसरी अनियन्त्रित रूपमा पृथ्वीमा आएका कारण अन्तरिक्षमा हुने फोहोरको उत्तरदायित्वसम्बन्धी प्रश्न उठेको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी अन्तरिक्ष प्रशासन नासाले चिनियाँ अन्तरिक्ष निकायलाई रकेट पृथ्वीमा फर्किँदा ससाना टुक्रा हुनेगरी विघटित हुने खालको अन्तर्राष्ट्रिय प्रचलनअनुसारको ढाँचा बनाउन आग्रह गर्दै आएको छ ।
यूएस स्पेस कम्यान्डले एउटा ट्वीट गर्दै लङ मार्च फाइभ ‘७/३० मा एमडीटीअनुसार झन्डै १०ः४५ बजे बिहान १६ः४५ जीएमटीे हिन्द महासागरमा पुनः प्रवेश गरेको’ जनाएको छ । थप जानकारीका लागि उसले चिनियाँ अधिकारीहरूले उपलब्ध गराएको विवरण हेर्न सुझाव दिएको छ ।
चिनियाँ अन्तरिक्ष निकायले रकेटको मूल भाग पृथ्वीमा फर्किएको स्थान ११९ डिग्री पूर्व देशान्तर र ९.१ डिग्री उत्तर अक्षांश भएको जानकारी दिएको छ।
उक्त स्थान उत्तरी प्रशान्त महासागरमा अवस्थित सुलु सागरमा पर्छ। सो स्थान फिलिपिन्सको पलावान द्वीपभन्दा पूर्वमा छ । चीनले अन्तरिक्षमा आफ्नो छुट्टै केन्द्र बनाइरहेको छ। ट्येन्गूङ नामक उक्त केन्द्रतिर प्रक्षेपित रकेटहरूमा पृथ्वीतिर फर्किँदा नियन्त्रण गर्न सकिने क्षमता छैन ।
चीनले गत आइतबार एउटा ल्याब मोड्यूलसहित लङ मार्च फाइभ रकेट ट्येन्गूङ केन्द्र पठाएको थियो । चीन सरकारले बुधबार उक्त रकेट फर्किँदा सम्भवतः समुद्रमा अवतरण गर्ने भएकाले मानिसहरूलाई कम जोखिम भएको बताएको थियो।