
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार एक समारोेहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको छ ।
सहरी विकास मन्त्रालयको एक अर्ब ११ करोड रुपैयाँको लागतमा दुई चरणमा गरी सम्मेलन केन्द्र निर्माण गरिएको हो । दुई चरणमा गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिएको हो । यो सभाहल संचालनमा आएसँगै जाडो होस् या चर्को गर्मी तथा वर्षाको बीचमा खुल्ला आकासमुनी सभा सम्मेलन तथा विभिन्न कार्यक्रम गर्नुपर्ने बाध्यता हट्ने छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगरमा सभाहल निर्माणका लागि २०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो ।
ठेक्का सम्झौता गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि नाकाबन्दी र भूकम्पका कारण ढिलो गरी थालिएको सम्मेलन केन्द्रको काम कोरोना महामारीका कारण केही समय प्रभावित बन्यो। यद्यपि ढिलै भए पनि निर्माणको काम पूरा भएको छ।
साना ठूला गरी एउटै छानोमुनि दुई हजार जना क्षमताका हलसहित तयार भएको अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन केन्द्र काठमाडौंभन्दा बाहिरको सबभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र हो । बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विघा क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ ।
सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव ४ बिघा क्षेत्रफलमा भने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीकेन्द्र निर्माण भइरहेको छ सतहबाट हेर्दा ब्लक अनुसार फरक–फरक संरचना देखिएको सम्मेलन केन्द्र आकाशबाट हेर्दा तीन वटै भवन एक आपसमा जोडिएर नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिएको छ ।
पहिलो चरणमा १ हजार १ सय १४ जना अट्ने क्षमताको मुख्य सभाहल रहेको भवन, दुई वटा लेक्चर हल, ६ वटा मिटिङ हल, भिआइपी, भिडियो, अडियो, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्।