
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयकबारे लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेताहरुसँग छलफल गरेकी छन् । शनिबार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू शरदसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाल लगायतका नेताहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् ।
भेटमा आफूहरूले नागरिकता समस्या राष्ट्रिय समस्या भएको र राज्यबिहीनताको अवस्थामा नागरिकलाई राख्न नहुने बताएको लोसपा नेता जितेन्द्र सोनालले जानकारी दिए । उनले विधेयकलाई अघि बढाउने विषयमा सकारात्मक रहेको बताए । उनले भने,‘पहिला राष्ट्रपतिबाटै जारी भएको अध्यादेश हो भनेर हामीले भन्यौं। नागरिकताको विषयमा संविधानमै धेरै त्रुटी भएका छन् भन्ने हाम्रो भनाइ हो।’
राष्ट्रपति भण्डारीले भने नागरिकता समस्या स्थायीरूपमा नै समाधान होस् भन्ने आफ्नो चाहना रहेको बताएको सोनलले जानकारी दिए । राष्ट्रपति भण्डारीलेसुझावसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । उक्त विधेयक राष्ट्रिय सभामा पेश हुने क्रममा छ । तर राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगर्ने बरु राजीनामा दिने तयारी रहेको खबर सार्वजनिक भएको छ ।