
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा पुनर्विचार गर्नुको सट्टा सत्ता गठबन्धनले मसलको भाषा बोलेको आरोप लगाएका छन् ।
बिहीबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नागरिकता विधेयकमा पुनर्विचार नगरी सत्ता गठबन्धनमा आबद्ध दलले मसल देखाएको आरोप लगाएका हुन् । उनले राष्ट्रपतिले नभई सत्ता गठबन्धनले पटक पटक संविधानको उल्लंघन गरेको आरोप लगाए ।
उनले भने, ‘राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो, पाखुरा देखाउँदै नगर्ने भने । संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो । यसले राष्ट्रपतिको अपमान गर्नु महानता ठानेको छ ।’ उनले नागरिकता नेपाली नागरिकलाई दिने बिषय भएकाले वितरण गर्ने वस्तु नभएको बताए ।
उनले भने, ‘नेपाली नागरिकले नागरिकता पाउनुपर्छ। सरकारलाई विदेशी नागरिकलाई नागरिकता दिने अधिकार हुँदैन। सरकारले नागरिकता खोस्न पनि सक्दैन। गैर नागरिकलाई दिन पनि सक्दैन। त्यसको कानुनी र संवैधानिक प्रावधानहरु छन्। कसैलाई अनागरिक बनाउन पाइँदैन।’
आफूले संविधान बमोजिम नै नागरिकता समस्या समाधान गर्न खोजेको ओलीको भनाइ थियो। उनले निर्वाचनपछि बन्ने एमालेको सरकारले एक महिनाभित्र नागरिकताको समस्या समाधान गर्ने बताए । अध्यक्ष ओलीले गठबन्धनसँग गन्तव्य नभएको र सत्ताका लागि मरिहत्ते गर्ने गरेको बताए ।
उनले भने,’ गठबन्धनलाई सोध्न चाहन्छु, तपाईंको गन्तव्य के हो ? एउटा जसरी पनि सत्ता प्राप्त गर्ने ? घुँडा टेकेर सुरुवाल माथि तान्न लगाएर हेर्नुहोस् त घुँडा।’ ओलीले मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनले गरेका अपराधको एक÷एक छिनोफानो र फैसला हुने बताए।