
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धनको नेतृत्व गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरमा सत्ता गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेले अपवित्र गठबन्धन गरेको आरोप लगाएका हुन् ।
मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी प्रवृत्ति र कसरत चलिरहेको दाबी गर्दै प्रचण्डले निर्वाचनपछि पनि गठबन्धन आवश्यक पर्ने बताए । उनले भने,’हाम्रो त गठबन्धन होइन, तालमेल मात्रै हो भनेर विपक्षीले भन्ने गरेका छन्, तर त्यो गठबन्धन नै हो । राजावादीहरू, अलगाववादीहरू, देशलाई विखण्डन गर्न चाहने तत्वहरू; प्रतिगमनकारीहरूको गठबन्धन प्रष्ट देखिएको छ ।’ उनले गठबन्धन निर्माण नगरेको भए संसद् विघटन भएपछि राजनीतिक समस्या उत्पन्न हुने अवस्था रहेको बताए ।
उनले भने,’यो एउटा सामान्य खालको चुनाव होइन । संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, देशका सबै उत्पीडित जाति, वर्ग, क्षेत्र समुदायलाई समावेशी, समानुपातिकसहित स्थापित भएको, लोकतन्त्रको रक्षा गर्ने कि यसलाई उल्ट्याउन दिने भन्ने ठूलो लडाइँजस्तो भएको छ । हामी राजनीतिक ब्याटल लड्दैछौं । त्यसो त हामी ब्यालेटबाट लड्दैछौं । ब्यालेटबाट अग्रगमन र प्रतिगमनको ब्याटल लड्दैछौं । त्यसकारण यसलाई सामान्य नसोचियोस् भन्ने अपील गर्न चाहन्छु ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको बताए । उनले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दावी गरे । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो ।
उनले जहानिँया राणा शासनको अन्त्य गर्ने, पञ्चायती निरंकुशता अन्त्य गर्न सफल काँग्रेस र कम्युनिष्टहरुबीचको गठबन्धन अब पनि सफलताको विन्दुमा पुगी छाड्ने बताए ।
उनले भने, ‘पहिलो कुरा गठबन्धनको बारेमा प्रश्नहरु उठलान । यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक ? यो प्रश्न खडा हुन्छ । अर्को विपक्ष जुन गठबन्धन बनाएका छन् । त्यो पवित्र गठबन्धन होकी अपवित्र गठबन्धन ? यहाँ प्राकृतिक, अप्राकृतिक मात्र होइन । यो नेचुरल पनि हो र पवित्र पनि हो । अर्को हाम्रो जुन विपक्षको गठबन्धन छ । त्यो अननेचुरल पनि हो र अपवित्र पनि हो । पहिलो हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो । संविधान रक्षाको लागि, संविधान कुल्चने काम भएको थियो । दुई दुई पटक संविधान कुल्चने काम भएको थियो ।’
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई विजयी गराउनका लागि एकतावद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष नेपालले मुलुकको शासन संचालनमा त्रुटी, कमी रहेको औंल्याउँदै त्यसलाई सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए ।