काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछिन् ।
भ्रमणका क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने कार्यक्रम छ । उनी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि नेपाल भ्रमणमा आउने उच्च अमेरिकी अधिकारी हो ।
उनले नेपालमा रहँदा नयाँ सरकारसँगको सहकार्य, एमसीसीको प्रगति विवरणलगायतका विभिन्न विषयमा छलफल गर्ने बताइएको छ । उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।
त्यसअघि उनी वासिङ्टन डीसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।
उनी ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन् ।