• Fri. Oct 30th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

प्राविधिक विश्वविद्यालय : विधेयक बहुमतले पारित: दुईतिहाइको आडमा सरकारले सदनबाट पास गराएर समग्र प्राज्ञिक क्षेत्रलाई कलंकित बनाएको प्रतिपक्षको आरोप -प्रदेश १

ByHT

Sep 24, 2019
Spread the love

आश्विन ७, २०७६कान्तिपुर संवाददाता
(मोरङ) — प्रदेशसभा बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेसको विरोधका बीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सोमबार पारित गरेको छ । कांग्रेसका प्रदेशसभा सदस्यहरूको होहल्लाका बीच ध्वनी मतको आधारमा बहुमतले उक्त विधेयक पारित भएको हो ।

सामाजिक विकास समितिले बहुमतले नै पारित गरेको प्रतिवेदनसहति विधेयक पारित भएको छ । बैठक सुरु हुनु अगाबै कांग्रेसका प्रदेशसभा सदस्यहरूले उठेर बेल घेराउ गरेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले बैठक सुरु गरेपछि उनीहरूले संसदीय सर्वोच्चता कायम गर लगायतका नारा लगाउन थालेका थिए । बस्न गरेको आग्रह प्रमुख प्रतिपक्षीले स्वीकार नगरेपछि सभामुख भण्डारीले होहल्लाकै बीच सामाजिक विकास समितिले संसदमा पेस गरेको प्रतिवेदनमाथि छलफल नै नगराई विधेयकको अंग बनोस् भनी प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव पारित भएपछि उनले विधेयकको प्रस्तावना, संक्षिप्त नाम र प्रारम्म्भ पढेर सुनाई विधेयकको अंग बनोस् भनेर प्रस्ताव गरे ।

प्रस्तावना, संक्षिप्त नाम र प्रारम्म्भको प्रस्ताव पास भएपछि सभामुख भण्डारीले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गर्न समय दिए । बेल घेराउ र नाराबाजीका बीच मन्त्री घिमिरेले आफ्नै कुर्सीमा टेक्दै निस्केपछि मर्यादापालकले रोष्टमसम्म पुर्‍याए । मर्यादापालकको सहयोगमा रोष्टम पुगेका मन्त्री घिमिरेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले यो विधेयक दुई तिहाईको आडमा सरकारले सदनबाट पास गराएर समग्र प्राज्ञिक क्षेत्रलाई कलंकित बनाएको बताए । ‘यो विधेयक अनुसार चल्ने विश्वविद्यालयले समग्र प्राज्ञिक क्षेत्र अमर्यादित हुने छन्,’ उनले भने, ‘हामीले अहिले सदनमा गरेको संघर्षको अनुभूति प्राज्ञिक वर्ग रविद्यार्थीले विश्वविद्यालय सञ्चालन भएपछि गर्ने छन् ।’

प्रदेश १ सरकारले यो विधेयक संघीय सरकारका रक्षा मन्त्री तथा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलको आदेशमा पारित गराएको कार्कीले आरोप लगाए । सरकारले आफ्ना पार्टीका नेता र संघीय सरकारको वारिस भएर काम गरेको टिप्पणी समेत उनले गरे ।

महिला सांसदलाई मर्यादापालकले घचेटे मन्त्री घिमिरेलाई रोष्टमसम्म्म पुर्‍याउने क्रममा मर्यादापालकहरूले धकेलेको, घचेटेर छेउ लगाउनुका साथै खुट्टाले चेपेको प्रति कांग्रेसका महिला सांसदहरूले विरोध जनाएका थिए । उनीहरूले ३३ प्रतिशत महिला सांसदहरू सदनमा भएको अवस्थामा पुरुष मर्यादापालकहरूले धकेल्ने, घचेट्ने र चेप्ने कार्य गरेको प्रति विरोध गरेका हुन् ।

उनीहरूको विरोधपछि सदनमा महिला मर्यादा पालकहरू तत्काल आएका थिए । कांग्रेसका सांसदहरूले मन्त्री घिमिरेलाई रोष्टमसम्म्म पुग्न नदिने योजनाका साथ वेल घेराउ गरेका थिए तर मर्यादापालहरूले उनीहरूको योजना विफल बनाए । प्रमुख सचेतक कार्कीले पुरुष मर्यादापलकले महिला सांसदहरूलाई दुरव्यवहार गरेको प्रति आपति जनाए ।

HT