• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

केपी ओलीको आत्मबल

ByHT

Apr 19, 2020
Spread the love

सुरेश आचार्य ।

प्रधानमन्त्री केपी ओलीको कोरोना सम्बन्धी हिजोको प्रस्तुतिलाई कतिपयले खिल्ली उडाएको फेसबुकमा पाएँ । तर मलाई चाही प्रधानमन्त्रीले छोटो, स्पष्ट र वैज्ञानिक तथ्यका साथ सबैले बुझने गरी कोरोना रोकथामको उपाय बताउनुभएको जस्तो लाग्यो । मैले एकजना विश्वविख्यात वैज्ञानिकले सिएनएनमा ठिक प्रधानमन्त्रीले भन्नु भएझै गरी कोरोना निर्जीव भएकोले त्यसलाई मार्न नसकिने तर त्यसको बाहिरी पत्रको रूपमा रहेको फ्याट्टी एसिडलाई तातोपानीले पखालेर बगाएर बिलुप्त वा अस्तित्वविहीन बनाउने गर्नुपर्छ भनेको स्मरण भएर आएको छ । बोलीचालीको भाषामा कोरोनालाई आफ्नो स्वासनली वा फोक्सोमा घर बनाउन दिनु नहुने नै मुख्य कुरा हो ।

यसैबीच, कोरोना संक्रमीत भई तीन हप्ताको उपचार र संयमका साथ निको भएका (संक्रमणमुक्त) दुई महिला (१९ वर्षकि र ६५ वर्षकि) को अन्तरवार्ता हिजो टिभीमा हेर्दा उहाॅहरू दुवैको जोड “आत्मबल” बलियो राख्न सकियो भने कोरोनाको आक्रमणबाट मुक्त हुन सकिने समान धारणामा प्रक्ष्येपण भएको पाएॅ । यी भुक्तभोगीहरूले त्यति भन्न वा आफ्नो अनुभव भन्दा लौ यी त वैज्ञानिक भएछन् भनेर खिल्ली उडान अवश्य मिल्दैन । उहाॅहरूले कोरोनाबाट जोगिने र बाॅच्ने टिप्स दिनु भएको हो !

प्रधानमन्त्री ओलीको भनाई र दुवै कोरोनामुक्त महिलाहरूको भनाईमा खासै भिन्नता वा गल्ती छ भन्ने मैले ठानेको छैन । तर राजनीतिक पार्टीका प्रमुख, पार्टीका नेताहरू समेत केही बुद्धिजीविहरूले प्रधानमन्त्री ओलीलाई हिजोको उहाॅको भनाईको खिल्ली उडाउॅदै उपहास गरेको देखियो । मलाई लाग्छ, हामीले नीति (policy) मा होइन कार्य (event) मा, बृहत (macro) होइन संकीर्ण (petty) र संस्था (institution) होइन व्यक्ति (individual) को पछाडि लाग्न वा बद्खोई गर्दा, मूल विषय वा अहिलेको सन्दर्भमा कोरोना रोकथाममा विषयान्तर हुन थाल्न पुग्छौं ।

अहिले कोरोना महासंक्रमण (Corona pandemic) का कारण आम जनता भोक, रोग र प्रकोपबाट बच्ने प्रयासमा व्यस्त छन् । अहिले कोरोना रोकथाममा सरकारको कमीकमजोरी औंल्याउॅनु वा जनतालाई जीवनचर्या सहज गराउने विचार प्रक्ष्येपण हुनुलाई अन्यथा लिन सकिदैन । तर कोरोना रोकथामकै विषयमा केन्द्रीत हुनुपर्ने बेलामा “राजा फर्काउने, सरकार फेर्ने वा व्यवस्था नै पल्टाउने” नितान्त राजनीतिक मुद्दाले कुनै पनि आकार लिन असंभव छ । यस्तो असान्दर्भिक अभिव्यक्ति अहिलेको विषम परिस्थितिमा जो कतैबाट आए पनि त्यो केवल ‘Pennywise but Pound Foolish’ अर्थात ‘सबैकाम छोडि पुच्छरमा हात’ हुनेछ । तर केही राजनीतिक पार्टीका प्रमुख वा नेताहरूबाट समेत यस्तो विचार प्रवाहित हुदा जनताले पत्याउने उनीहरूको आधार उनीहरू स्वयमले समाप्त गरिरहेका छन भन्ने मलाई लाग्छ !

प्रधानमन्त्री ओलीको सरकार दुधले धोएको पवित्र र निष्कलंक छैन, तर दुइ-दुइ पटक मृगौला प्रत्यारोपण गरिसकेका प्रधानमन्त्री ओलीको हिजोको प्रस्तुतिका बेला उनको अनुहारमा देखिएको आभापूर्ण चमक-दमक लोभलाग्दो थियो, त्यहाॅ नाटकीयता पटक्कै थिएन । एकछिन संकीर्ण राजनीतिलाई अलग राखेर मैले हेर्दा मलाई त्यस्तै अनुभूति भयो । मैले आज बिहानै निष्कर्श निकाले कोरोना संक्रमणमुक्त दुवै महिला र प्रधानमंत्री ओलीलाई साॅच्चि नै “आत्मबल” ले पुनर्जीवन दिएको रहेछ । धेरै अरूलाई पनि मनमा त्यस्तै लागेको हुनुपर्छ । प्रधानमन्त्री ओलीको अहिलेको शारिरीक र मानसिक आत्मबल, कथम्कदाचित राजनीतिक आत्मबल (political willpower) मा अनुवाद भएछ भने उनले त्यस क्षेत्रमा अझ बलियो पुनर्जीवन पाउनसक्ने देखिदैन त?

HT