• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

‘अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश !’

ByHT

Apr 24, 2020
Spread the love

काठमाडौं । सरकारले गत सोमबार जारी गरेका अध्यादेश फिर्ता लिएपनि प्रधानमन्त्रीमाथि दलहरुले अझै आशंका गरेका छन् । विभिन्न राजनीतिक दलका नेताले अध्यादेश फिर्ता लिनु खुसीको कुरा भएपनि यो फेरि अर्को रुपमा आउनसक्ने बताएका हुन् । नेपाली कांग्रेसले अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको बताएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा देश रहेको उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश ! प्रधानमन्त्री ! जनताको तर्फबाट आग्रह छ अब सम्पूर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं । पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला।’ अरु दल विभाजन ल्याउन अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री अध्यादेश फिर्ता लिन बाध्य भएका थिए ।

त्यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहेको बताएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार जारी गरेका दुई अध्यादेश फिर्ता गर्ने निर्णय गरेपछि शुक्रबार ट्वीट गर्दै भट्टराईले ओली र उनको आडमा भएको गम्भीर अपराधको छानविन गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएछन् । यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानविन र कार्वाही हुनैपर्छ ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ ।सावधान !

त्यसैगरी साझा पार्टीले सरकारले अध्यादेश फिर्ता लिनु खुसीको विषय भएको बताएको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सामाजिक संजाल फेसबुकमार्फत अहिले अध्यादेश फिर्ता लिनु खुसीको विषय भएपनि फेरि छिट्टै अर्को रुपमा प्रकट हुनसक्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘अध्यादेश फिर्ता लिनु खुशीको विषय हो । तर तात्कालिक घटनाको समाधान निस्किए पनि यिनको भ्रष्टता र स्वार्थलिप्तताको श्रृङ्खला ३० वर्षदेखि रोकिएको छैन । त्यो फेरि छिटै अर्को रूपमा प्रकट हुनेछ । कि ’हामी त यस्तै हो नि ब्रो’ भनेर यिनैलाई जिम्मा लाऊँ । नत्र अब देश बनाउने आगो बोकेकाहरू एकजुट हौँ । यस्तो अवस्थामा साझा पार्टीको नि काम छैन भनेर कसैलाई फाइदा हुनेवाला छैन । हामी विफल भएर यो देशको राजनीति सुध्रिनेवाला छैन । हामी सफल भयौँ भने यो देशको राजनीति सुधार्न ठूलो मद्धत पुग्नेछ।’

HT