• Sun. Nov 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेकपाको सचिवालय बैठक जारी

ByHT

Apr 29, 2020
Spread the love

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर पार्टीभित्र विवाद भइरहेका बेला सचिवालय बैठक बोलाइएको हो । मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि बसेको थिएन । अध्यक्षद्वय ओली र प्रचण्डबीच मंगलबार भएको भेटवार्तापछि आजका लागि सचिवालय बैठक बस्ने समय आजका लागि तय भएको हो ।

आज बैठक बस्नुअघि प्रधानमन्त्रीले आफ्ना पक्षका सांसदलाई हस्ताक्षर गराएका र माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड पक्षका सांसदको पनि हस्ताक्षर गराइएको समाचार सार्वजनिक भएका छन् । प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउने र इतर पक्षले पनि आफ्नो पक्षमा बहुमत देखाउने काम भएको बताइएको छ । पार्टी विभाजन गर्ने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओलीको सर्वत्र विरोध भइरहेको छ । सर्वत्र विरोध भएपछि सरकारले अध्यादेश खारेज गरिसकेको छ ।

तर अध्यादेशको औचित्यबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने भन्दै २० जना स्थायी कमिटी सदस्यहरुले पहिला सचिवालय र त्यसपछि स्थायी कमिटी बैठक डाक्न माग गरिसकेका छन् । उनीहरुले बैठक नबोलाइए आफूहरु कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् । ओली पक्ष बैठक नबोलाउने पक्षमा थियो । तर प्रचण्ड र माधव नेपालले दबाव दिएपछि ओली बैठक बोलाउन बाध्य भएका हुन् ।

आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने बताइएको छ । नेकपाका नेताहरुले सरकारको काम गराई ठिक नभएको, पार्टी बदनाम भएको, भ्रष्टाचारका विभिन्न विषय उठेका भन्दै प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने बताउँदै आएका छन् ।

HT