• Fri. Oct 30th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

पार्टी चलाउने दुईवटा तरिका

ByHT

Apr 29, 2020
Spread the love

विष्णु रिजाल ।
पार्टी चलाउने दुइवटा तरिका मात्र छन् ।
पहिलो, मुख्यतः नेतृत्वबीच सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने व्यवस्था नेकपाको विधानमा छ । कम्तीमा ‘कोर अफ लिडरसीप’ भनिएको केन्द्रीय सचिवालयमा सहमति होस् भन्ने आम कार्यकर्ताको चाहना छ । अहिलेको अवस्था हेर्दा त्यसरी सहमति हुने सम्भावना पूरै नटरिसके पनि साकार हुने सम्भावना न्युन देखिन्छ ।

दोस्रो, विषयवस्तुमा सहमति नभएको अवस्थामा त्यसलाई टुंगो लगाउन प्रक्रियामा सहमत भएर जानुपर्छ । सबैले आ-आफ्ना दावी गरिरहँदा तिनको परीक्षण हुने बैधानिक र औपचारिक निकायहरु छन्ः पार्टीमा सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटी छन् भने संसद्मा संसदीय दल छ । विगतमा पनि सहमतिमा निर्णय हुन नसक्दा प्रक्रियाका आधारमा अर्थात् बहुमत-अल्पमतका आधारमा निर्णय भएको र त्यसमा असहमति दर्ज भइसकेको छ ।

यस आधारमा हेर्दा पहिलो विकल्पमा सहमति नभएमा नेताहरु दोस्रो विकल्पमा जान सहमत हुनुपर्छ । आ-आफ्नो बहुमत छ भनेर दाबी गरिसकेपछि त्यसको आधिकारिक निकायहरुमार्फत निरुपण गर्नलाई सहमत हुनुपर्छ । यसो गर्दा आफ्नो बहुमत भए मान्छु, अर्काको भए मान्दिनँ भन्ने होइन, खेलको नियममा रहेर सहजतापूर्वक परिणामलाई स्वीकार गरेर नेकपामाथि रहेको जिम्मेवारी पूरा गर्न लाग्नुपर्छ । सर्वसम्मत रुपमा संसदीय दलका नेता .हुनुभएका प्रधानमन्त्रीले नै आफूसँग बहुमत (मात्र) रहेको दावी गर्नुपर्ने अवस्था आएपछि त्यसको आधिकारिकताका लागि पनि संसदीय दलमा परीक्षण गर्नु राम्रो हुन्छ । उहाँले बहुमत पुर्याएमा अरुले चाइचुइँ नगरी परिणाम स्वीकार गर्नुपर्छ भने बहुमत पुर्याउन नसकेमा उहाँले पनि त्यस्तै गर्नुपर्छ । यसबाट पार्टीको एकता, प्रणालीको अनुशरण र जनमतको कदर हुन्छ ।
लोकतन्त्र र लोकतान्त्रिक पार्टीमा यसभन्दा अरु उपाय पो के छ र ?

त्यसैले निष्कर्षमा भन्नुपर्छ, नेताहरु, सक्नुहुन्छ सहमति गर्नूस्, सक्नुहुन्न, निष्कर्षमा पुग्नका लागि प्रक्रियामा सहमति गर्नूस् । धेरै दिन यस्तै अन्योल रहँदा तिक्तता बढ्छ, अवाञ्छित गतिवधि बढ्छन्, कार्यकर्ताबीच विभाजन गहिरिन्छ र पार्टी प्रणाली कमजोर हुन्छ ।

HT