
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा अोलीले निर्वाचन आयोगलाई धम्क्याएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा विघटनकाविरुद्ध बुधबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंगलबार आयोग पुगेर आफू पहिलो अध्यक्ष भएको र आफूले भने अनुसार निर्णय गर्न आयोगलाई दवाव दिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले पार्टीको विधान, सर्कुलर, माइन्यूट कतैपनि पहिलो अध्यक्षको कुरा उल्लेख नभएकाले आयोगलाई ओलीका कुरा नसुनी स्वतन्त्र निर्णय गर्न आग्रह गरे । उनले भने, ‘ केपी ओली बहुमतको शासन मान्न तयार छन् भने ४४१ जनाको मार्चपास गरौं हामी तयार छौं । उनको पक्षमा एक सय जना छन् हाम्रो पक्षमा ३०० जना छन् । निर्वाचन आयोगलाई धम्क्याएका छन् । पहिलो अध्यक्ष भनेर । उनी ओली गुटको, बालकोटको पहिलो अध्यक्ष होलान् तर नेकपाको पहिलो अध्यक्ष कोही छैन । पार्टीको विधानमा छैन, माइन्यूटमा छैन । त्यतिकै म त पहिलो अध्यक्ष हुँ भन्दै ताज पहिरिएर राजा बनेर हिंडेका छन् । निर्वाचन आयोग प्रष्ट हुनुपर्छ । सर्कुलर, दस्तावेज विधान हेरे हुन्छ । त्यसमा विश्वास नलागे ४४१ जनालाई बोलाएर टाउको गन्दा हुन्छ ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओली अन्त कतैबाट नसकेपछि पशुपतिनाथको साहारा लिन पुगेका बताए । उनले पशुपतिनाथले जो मानिस असल, राम्रो प्रवृत्तिको छ त्यसलाई मात्र कल्याण गर्ने बताए । उनले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि कल्याण गर्दैनन् ओलीजी चेतना भया । लोकतन्त्रको हत्यारालाई बलात्कार हुने चेलीको आत्माले ए ओली तिमीले कतिजनालाई अपराधीलाई जेलमा कोचेका छौं भनी प्रश्न गरेका छन् । बलात्कारको घटनाप्रति तिम्रो असंवेदनशीलताप्रति धिक्कार भनिरहेका छन् । आम नेपलाी जनताले भनिरहेका छन् केपी ओलीलाई धिक्कार छ पशुपतिनाथले पनि सायद त्यही भन्ने छन् । बत्ती बालेर उनको पाप पखालिने छैन ।’