
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फासीवादको अभ्यास गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध बुधबार काठमाडौँमा आयोजित बिरोध सभालाई सम्बोधन गदैै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले नेपालमा फासीवादको अभ्यास गरिरहेको आरोप लगाएका हुन् । प्रधानमन्त्रीले संविधानको धारा र अक्षरहरुमा कालोमसी पोतेर, लोकतन्त्रको हत्या गरी फासीवादको अभ्यास गरेको उनले बताए ।
प्रवक्ता श्रेष्ठले कुनैपनि हालतमा फासीवाद नसहने भन्दै फासीवादलाई परास्त गर्ने बताए । उनले लोकतन्त्रवादीहरु चुनावको पक्षमा भएपनि संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने संविधान विरोधी चुनाव आफूहरुलाई नचाहिएको बताए । लोकतन्त्रलाई प्रभावकारी बनाउन, लोकतन्त्रलाई सुदृढ तथा कार्यकारी बनाउन चुनाव चाहिने उनको भनाई छ ।
प्रवक्ता श्रेष्ठले प्रतिगमन विरुद्ध संयुक्त संघर्ष गर्न पहलकदमी गरिरहेको भएपनि त्यसो हुन नसकेको बताए । तर केपी ओलीको गुटबाहेक सबै आन्दोलनमा रहेको उनको भनाई थियो ।
आन्दोलनले संसद पुनःस्थापना गर्ने कुरा सुनिश्चित भएको उनले दाबी गरे । उनले पार्टीले जनाएका प्रतिबद्धताहरु केपी ओलीकोे निरंशुक, स्वेच्छाचारीताको कारण समृद्धिको सपना पुरा गर्न नसकेको बताए ।