
अमेरिकी संसद् परिसर क्यापिटलमा भएको एक आक्रमणमा परी एकजना प्रहरी अधिकारीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । सुरक्षा अवरोध राखिएको ठाउँमा एउटा कार आएर जोतिएको थियो ।
त्यसपछि त्यसका चालकले त्यहाँ रहेका प्रहरी अधिकारीहरूमाथि चक्कु प्रहार गरेका थिए । लगत्तै प्रहरीले चलाएको गोली लागि उक्त संदिग्ध व्यक्तिको ज्यान गएको थियो । जनवरीमा भएको घातक क्यापिटल हमलाको तीन महिनापछि भएको पछिल्लो घटना आतङ्कवादसँग सम्बन्धित नरहेको देखिएको अधिकारीहरूले बताएका छन् ।
वाशिङ्टन डीसीको मेट्रोपोलिटन प्रहरी विभागका कार्यवाहक प्रमुख रोबर्ट कोन्टीले,‘सो हमला सुरक्षाकर्मीप्रति लक्षित हो वा के हो भन्ने कुराको यथार्थ पत्ता लगाउने हाम्रो जिम्मेदारी हो। त्यो हामी पूरा गर्नेछौँ।’
क्यापिटल प्रहरीकी कार्यवाहक प्रमुख योगानन्द पिटम्यानले हमलामा एकजना अधिकृतको निधन भएको भन्दै दुःख प्रकट गरेकी थिइन् । एक विज्ञप्तिमार्फत् उनले मृतक अधिकृत विलियम ’बिली’ इभान्स रहेको र उनी १८ वर्षदेखि क्यापिटल प्रहरीमा कार्यरत रहेको बताइन् ।
राष्ट्रपति जो बाइडनले क्यापिटल भवनको सुरक्षार्थ खटिएका एक प्रहरी अधिकृतको हत्या भएकोमा गहिरो दुःख प्रकट गरेका छन् । हमलाकारी भनिएका व्यक्ति नोहा ग्रीन भएको बताइएको छ ।
मध्य मार्चतिर उनको फेसबुक पेजमा रहेको पोस्टमा ग्रीनले आफूले काम छाडेको लेखेका छन् । हाल मेटिएको उक्त पोस्टमा बिमारी हुनु तथा अध्यात्मिक कारणले काम छाडेको बताएको छ । उनले नेशन अफ इस्लाम नामक अश्वेत शक्ति अभियानप्रति निकै चासो प्रकट गरेको पनि पाइएको छ ।
जनवरी ६ मा भएको घातक हमलापश्चात् क्यापिटल क्षेत्र वरपर कडा सुरक्षा बन्दोबस्त गरिएका छन्। काँडेतार, सुरक्षा अवरोध तथा उच्च सतर्कता अपनाइएका छन्।