
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दुई महिने संगठन निर्माण र सुदृढीकरण अभियानघोषणा गरेको छ ।
शनिबार बसेको स्थायी कमिटी बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ दुई महिने अभियान घोषणा गरेको हो । नेपाल पक्षले २०७५ जेठ २ को संरचनामा फर्किएर पार्टी एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रहसमेत गरेको छ । बैठकपछि एमाले नेता योगेश भट्टराईले दुई महिने अभियान चलाइने जानकारी दिए ।
यसका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधिको रुपमा कार्यविभाजन गरेर दुई महिना नेताहरूलाई जिल्लामा खटाउने निर्णय बैठकले गरेको छ । त्यस्तै यसबीचमा पार्टी एकता रक्षाका लागि देशभरि प्रचार, गोष्ठी र अन्तरक्रिया गरिने उनले जानकारी दिए ।
नेपाल पक्षले वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनको एकतालाई ध्यान दिँदै काठमाडौंमा भव्य कार्यक्रम गर्ने, वैशाख १३ गते मनमोहन अधिकारी स्मृति दिवसलाई एकताकै सन्दर्भका रुपमा मनाउने र विराटनगरमा केन्द्रीयस्तरको कार्यक्रम गर्ने, जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसमा चितवनमा राष्ट्रियस्तरको कार्यक्रम गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए ।
बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको एउटा अवधारणा पत्र प्रतिवेदनमा आएका सुझाव र स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्यले दिएको सुझावलाई अन्तिम रुप दिएको छ । यसलाई प्रकाशित गरेर पार्टीव्यापी वितरणमा लगिने भट्टराईले बताए ।