
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई दृढटतापूर्वक अघि बढ्न आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा नेपाल उत्पीडित जातिय मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले केपी ओलीको कारबाहीमा परिन्छ कि भनेर नडराउन आग्रह गरेका हुन् ।
उनले फागुन २८ गतेको कथित बैठकको निर्णय फिर्ता लिन आफूहरुले गरेको आग्रह बेवास्ता गर्दै केपी ओली पार्टीमा एकलौटी निर्णय गर्दै हिडेकाले आफूहरु पार्टी पुनर्गठनका लागि अघि बढेको बताए ।
आफूहरुले ओलीलाई सुध्रिन पटक पटक आग्रह गरेको तर उनले उल्टै आफूहरुलाई कारबाही गरेको बताए । उनले भने, ‘केपी ओलीको मारमा परेका कार्यकर्ता निरास नहुन भनेर हामीले चैत चार र पाँच गते पवित्र उद्देश्यका साथ कार्यकर्ता भेला आयोजना गरेका थियौ । यसको उद्देश्य पार्टीको यो शक्ति अन्य पार्टीमा नजाओस् भन्ने थियो । २८ गतेको कथित निर्णय फिर्ता लिनुस् भन्यौं तर उनले त्यो हिम्मत गर्न सकेनन् । त्यो भेलापछि उत्साहित भयौं । ओली सुध्रिएनन् बरु हामीलाई कारबाही गरे । धम्की दिँदैछन् सबैबाट निकाल्ने भनेर । कतै देशबाट निकाल्ने हो कि ? ज्ञात होस् ओलीजी डराउनेवाला छैनौं । माओवादीलाई जंगलबाट ल्यायौं वार्ता गरी । राजसंस्था पाखा लगायौं । संवादबाट जेपनि समाधान हुन्छ । केपी कमरेडलाई केही मतलब छैन । उहाँलाई संवादमा विश्वास छैन । म नै देश हो । व्यक्तिवाद गुटवाद र अहंकार नै ओलीको समस्या हो ।’
उनले ओलीसँगको लडाइँ कुर्सीका लागि नभएको बताए । उनले भने, ‘यो ओलीसँगको व्यक्तिगत विरोध होइन । यो त देशलाई कसरी अघि बढ्ने भन्ने लडाइँ हो । वरिष्ठ नेता नेपालले केपी ओली छलफल र संवादमा विश्वास गर्ने नेता नभएको बताए । उनले भने, ‘पार्टी कमिटीमा समस्याकाबारेमा छलफल गरौं भन्यौं सुशासन कायम गरौं भन्यौं । हत्या हिंसा बढेको छ, मिटर ब्याजी बढे । राष्ट्रिय पूँजीको विकास कसरी गर्न सकिन्छ भनेर छलफल गरौं भन्यौं तर उनी मानेन् ।’
उनले आफूहरु परिवर्तनको अभियानमा अविचलित रुपमा अघि बढ्ने बताए । उनले पार्टीको दस्तावेज लिएर कार्यकर्तामाझ आउने र त्यसलाई तल्ला तहसम्म पुर्याउन कार्यकर्तालाई निर्देशन दिए । उनले नेता कार्यकर्तालाई दुविधामा नपर्न, लोभलालचमा नफस्न र झुठा आश्वासनमा नपर्न आग्रह गरे । उनले बरु ओलीको लोभलालचनमा परेका नेता कार्यकर्तालाई सम्झाएर यतै ल्याउन आग्रह गरे ।
उनले केपी ओलीको कारबाहीबाट आफैहरु नआत्तिएको नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरे । ओली गुटले कारबाही गर्ने श्रृंखला चलिरहने बताए । उनले भने, ‘हामी चार जनाालई निकालियो अब पालो गोकर्ण कमरेडको हो । कहिले निकाल्छन् अब । कोही आत्तिएका छैनौं । हामी ओली गुटबाट निकालिएको हो पार्टीबाट होइन । हामी पार्टीलाई सशक्त बनाएर लैजानेछौं । टोलटोलमा गाउँ गाउँमा संगठन निर्माण हुन्छ र त्यो आन्दोलनको आधार बन्नेछ । उहाँ र ईश्वर पोखरेलबाहेक अरुको पार्टीमा कुनै मूल्य छैन । महाधिवेशनबाट निर्वाचित भएका मध्ये आफू रहने र अरुलाई चाहिँ निकाल्न पाइन्छ ? हाम्रो हैसियत र राष्ट्रिय महाधिवेशन कमिटीको सदस्य रे यो कसरी बैधानिक हुन्छ ? आफू गल्ती गर्ने अनि स्पष्टीकरण सोध्ने ? भन्दै उनैलाई हामीले स्पष्टीकरण सोध्यौं । अनि स्पष्टीकरण उल्टै सोध्ने यत्रो हिम्मत भनेर हामीलाई कारबाही गरे ।
केपी एमाले रे उनी कसरी एमाले ? पार्टी बनाउँदा समर्थन थियो तर उनी जेलमा थिए । हामीले बनाएको हो पार्टी र संगगठन । केपी ओलीले निकालेर हामी निक्लिने होइन । नेता हामी हो । राष्ट्रिय राजनीतिमा हामीले परिवर्तन गरेका हौं हामीले थेगेका हौं । सत्य हाम्रो पक्षमा छ ।’
वरिष्ठ नेता नेपालले ओलीको फूर्ति प्रधानमन्त्री हुन्जेल मात्र हुने बताए । उनले भने, ‘हामी फेरि अगाडि बढ्नेछौं । सबैं जिल्ला, स्थानीय तह र वडा वडामा संगठन निर्माण गछौं । तपाइँहरु उम्मेदवार हुनुहुनेछ । निर्वाचनमा ओलीलाई एक्ल्याउने छौं । ओलीको फूर्ति प्रधानमन्त्री हुन्जेलसम्म मात्र हो । फूर्ति उडायो सपना सबै हुरीले भन्ने हुनेछ ।’
उनले ओली अहिले आफूलाई मात्र कमरेड देख्न थालेको भन्दै आफूलाई त्यो देखेर अचम्म लागेको बताए । उनले भने, ‘ हामीलाई स्पष्टीकरण सोधिएछ श्री माधव नेपाल भनेर । कमरेड पनि लेखेनन् अनि हामीले पनि श्री केपी ओली भनेर पठायौं । जस्तालाई तस्तै ढिँडालाई निस्तै गर्नुपर्छ ।’