काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिले कोल्टे फेरेको बताएका छन् । शनिबार कपिलवस्तुको तौलिहवामा जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व लिन पहल गर्ने कांग्रेसको निर्णयपछि राजनीतिले कोल्टे फेरेको बताएका हुन् । उनले अब केही दिनमै नयाँ सरकार गठन हुने बताए ।
उनले त्यसका लागि आफूले अब घनिभूत छलफल चलाउने बताए । उनले भने, ‘म आज कपिलवस्तुको कार्यक्रममा आएको छु । म बेलुका ६ बजे काठमाडौं फर्किन्छु भन्ने थियो तर अब राजनीतिले कोल्टे फेरेको छ । म आज छिट्टै काठमाडौं फर्केर नयाँ सरकार गठनका लागि घनिभूत छलफल चलाउँछु ।’
नयाँ सरकार गठनमा माओवादी केन्द्रको भूमिका निर्णायक हुने बताए । उनले प्रधानमन्त्री हुनु नहुनु ठूलो कुरा नभएको भन्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र रक्षा नै ठूलो कुरा नभएको बताए । उनले केपी ओलीले संसद विघटन गरी जनताको सर्वोच्च संस्था विघटन गरेपनि त्यसलाई जनताले परास्त गरेका बताए । उनले देशलाई निरंकुतातर्फ धकेल्ने ओलीको कदम पूरा नहुने बताए ।