
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेलेकाले कांग्रेसले सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन् ।
शनिबार दावाँली मिलन क्लबको १५औँ साधारणसभालाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान समस्याबाट निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको सबै दलको निष्कर्ष रहेको बताए । ‘५ वर्षको लागि प्राप्त गरेको म्यान्डेट कम्युनिष्टहरू ३ वर्ष पनि टिक्न सकेनन् । यो सरकार असफल भइसक्यो । देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकताअनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ ।’
नेपालको संविधान निमार्ण गर्न पनि ४/४ जना कम्युनिष्ट नेताहरू असफल हुँदा अन्त्यमा कांग्रेसको नेतृत्वको सरकारले नै संविधान निर्माण गरेकाले अहिलेको राजनीतिक समस्याबाट निकास दिन पनि कांग्रेस नै सफल हुने उनको दाबी गरे ।
कम्युनिष्टहरू नेपालको राजनीतिमा असफल भइसकेका उनले बताए । नेता सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र भएकोले नेतृत्व कर्तामा सेवाको भावना हुन जरुरी रहेको बताए । उनले भने ‘तर कम्युनिष्टहरूमा सेवाको भावना छैन । अहिलेको नेतृत्व इमानदार हुनुपर्छ, सेवाको भावना हुनुपर्छ, राष्ट्रियता र नैतिकता हुनुपर्छ ।’