
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाली कांग्रेस काठमाडौं नुवाकोट सम्पर्क समितिको भेलामा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताएका हुन् ।
उनले पार्टीको केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए ।
सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलकोबीच समझदारी बनाई अविश्वासको प्रस्ताव लैजाने बताए । उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताए ।
पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए । महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको उनको भनाई थियो ।