
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले आज संगठन सुदृढीकरण अभियान घोषणा गर्ने भएको छ । त्यसका लागि आज दिउँसो स्थायी कमिटी बैठक बस्दैछ ।
शुक्रबारको बैठकमा पनि संगठन सुदृढीकरण राष्ट्रिय अभियानको घोषणा र पार्टीको तल्लो तहसम्म लैजाने दस्तावेजबारे छलफल भएको थियो । आज बैठकले त्यसलाई पूर्णरुप दिने र अभियान घोषणा गर्ने नेपाल पक्षको तयारी छ । फागुन २८ गते आफूपक्षीय नेताको बैठक राखेर पार्टी अध्यक्ष केपी ओलीले विधान संशोधन र केन्द्रीय कमिटी विस्तार गरेपछि एमालेमा विवाद चर्किएको छ ।
त्यस्तै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष डा. भीम रावल तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र घनश्याम भूसाललाई पार्टीबाट निलम्बन गरेपछि नेपाल पक्ष पार्टी सृदृढीकरण अभियानमा जान लागेको हो । नेपाल पक्षले विभिन्न जिल्लामा पार्टी कमिटी गठन गर्न सुरु गरेको छ भने युवा संघ र अनेरास्ववियूको नेतृत्व चयनसमेत गरिसकेको छ ।