
काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई सिफारिस गरेको छ । आइतबार बिहान बसेको परिषदको बैठकले झापाका रेग्मीलाई आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो ।
लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर बैठकले रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो । प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।
रेग्मी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त दुई आयुक्तमा पूर्वसचिव डा. हरि पौडेल र दिलीप रेग्मीलाई नियुक्तिको सिफारिस गरेको बताइएको छ । परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने गएका थिएनन् ।