
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिएका छन् । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न कानुन व्यवसायीहरुले माग गर्दै आए पनि मंगलबारको इजलासमा उनीहरुलाई नै राखिएको छ ।
नेकपा विभाजन सम्बन्धी फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने केसीलाई इजलासमा राख्दा यसले निष्पक्ष फैसलामा असर गर्ने भन्दै अधिवक्ताहरुले उनीहरुको विकल्प खोज्न आग्रह गर्दै आएका छन् । यही विषयमा प्रश्न उठेपछि शुक्रबार र आइतबारको सुनुवाइ प्रभावित भएको थियो ।
संवैधानिक इजलास परिवर्तन गर्ने र नगर्ने बारे सोमबार न्यायाधीहरुवीच छलफल भएको थियो । अन्ततः आजको इजलास परिवर्तन भएन । न्यायाधीशद्वय केसी र श्रेष्ठले आफूमाथि उठेका प्रश्नबारे इजलासमै प्रष्ट पार्ने बताइएको छ ।