काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता जनाएका छन् । शुक्रबार बागमती प्रदेश कमिटीले काठमाडौंमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताएका हुन् ।
उनले प्रचण्ड–नेपाल समुहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताए । प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गरे ।
जनताले सरकारलाई ५ बर्ष काम गर्ने म्याण्डेट दिएको भएपनि प्रचण्ड–नेपाल समुहले व्यवधान गरेकाले संसद विघटन गरी ताजा जनादेशमा गएको उनले स्पष्ट पारे । प्रधानमन्त्रीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने निर्णयको बचाउ गरे ।
बेलायतको उदाहरण दिदै उनले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गरे । सभामा ‘राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताए ।