
काठमाडौं । नेकपाको–प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचनबाट जनअपेक्षा अनुसारको फैसला आउने आफूहरुको अपेक्षा रहेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनकाविरुद्ध बुधबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनभावना विपरीत निर्णय आए त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिए ।
उनले आजको सभाबाट सर्वोच्चका न्यायाधीश र आयोगका आयुक्तहरुलाई सहज हुने आफूहरुको अपेक्षा रहेको बताए । उनले भने, ‘लाखौं जनताको उपस्थितिमा भएको यो सभा सम्मानित सर्वोच्च अदालतका न्यायाधीशज्यूहरुले पनि राम्रोसँग देख्नुभएको छ, नेपाली जनताले के चाहेका छन् भन्ने कुरा । न्यायाधीशहरुले संविाधान र जनभावना अनुरुप ढिलो नगरी फैसला दिनुहुनेछ । नेपाली जनताको आकांक्षा विपरीत फैसला आए दुर्भाग्य हुनेछ । जनता विद्रोहमा गए के हुन्छ ? कानुनी राजको मान्यतामा हामीहरु दृढ छौं । त्यसमा विचार गरियोस्।’
उनले नेपालका लागि कस्तो संविधान बनायो भने जनताको हित हुन्छ भनेर यो संविधान बनाएको भन्दै सन्की तानाशाहले संविधानको हत्या प्रयासलाई अदालतले साथ नदिनेमा आफू विश्वस्त रहेको बताए ।
उनले भने, ‘यो सभाबाट अदालतलाई सहज भएको छ । नत्र आँधी आउँछ । त्सलाई कसैले थेग्न सक्ने छैन । शान्तिपूर्ण विद्रोह ‘ग्रीन रिभोलुसन’ हुन्छ नेपालमा । केपी ओलीको सनकका भरमा उस’ग डराएर फैसला गर्छन् भन्ने पत्याउन सकिन्छ त ? यत्रो विशाल जनताको आवाज नसुन्ने त ?’ उनले निर्वाचन आयोगले लक्षण राम्रो नदेखाएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले भने, ‘हामीले सुरुमा गएर बहुमत देखायौं तर नबोल्ने । ओलीले भनेपछि मान्ने । सजिलो कसैलाई छैन । कमजोरी नठाने हुन्छ । खबरदार खेलाँची कसैले नठाने हुन्छ जनताले दुःख पाउँछन् । लाखौं जनताको आवाज सुनियोस् । निर्वाचन आायोग खुट्टा नकमाउ नत्र तिम्र्रा पनि खुट्टी देखिन्छन् । त्यसो नभए नेपाली जनतताले सहदैन ।’
अध्यक्ष प्रचण्डले आफूहरुको स्वार्थ कुर्सीका लागि नभई मुलुक समृद्ध बनाउनबाहेक अरु केही नभएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिइ पश्चाताप गर्न आग्रह गरे ।
उनले पश्चताप गरी राजीनामा नदिए दशौं लाख जनता सिंहदरबार र बालुवाटार घेर्न आउने चेतावनी दिए । उनले भने, ‘ मेरो सल्लाह राजीनामा दिएर पश्चाताप गरेर वक्तव्य निकाल्नुस् । तपाईँ अझै निरंकुशतामा जाँदै हुनुहुन्छ अब भगवानको शरणमा जानु भएको छ । हाम्रा जिवित भगवान जनता हुन् । हामी जनतासँग छौं । केपीजी सभा कस्तो हुन्छ आज देख्नुभयो नि ? विरोध प्रदर्शन कस्तो हुन्छ देख्नुभो नि ? हेर्नुहोला केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्न यो भन्दा ठूलो संख्यामा जनता आउनेछन् । लोकतन्त्रको हत्या गर्ने तिम्रो चरित्र नेपाली जनताले बुझेका छन् ।’ उनले ओली समूहबाट फर्किनेहरुको लहर चलेको बताए । प्रचण्डले दुई मन्त्री फर्किन आफूहरुसँग वार्ता गरिरहेको समेत बताए ।
उनले कांग्रेस र जनता समाजवादी पार्टीलाई प्रतिगमनविरुद्धको आन्दोलनमा हातेमालो गर्न आग्रह गरे । उनले लोकतन्त्रको हत्या भएको बेला छिमेकी मुलुकहरुबाट सहयोगको अपेक्षा गरेको बताए । चितवनको माडीमा आफूले राम मन्दिर बनाउन नदिएको भन्ने ओलीको भनाईप्रति आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले पहिला पूरातात्विक अनुसन्धान गर्न आग्रह गरे । उनले भने, ‘केपीले अस्तीको सभामा माडीमा राम मन्दिर बनाउने भन्याछु तर प्रचण्ड बोल्दै बोल्दैन भनेछन् । मेरो चुनौति के छ भने चितवनको माडीमा राममन्दिर बनाउने हो भने अनुसन्धान गरेर प्रमाणित गर्नुुस् । म भन्दा बढी खुसी कोही हुने छैन । तर तपाइँ जस्तो ठग तपाइँको नाटक हेर्ने तीन वर्ष सम्म म नै हो । तपाइँ पूरातात्विक अनुसन्धानका लागि एकसिन्को नभाँच्ने अनि प्रचण्डलाई आरोप लगाउने ?