काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले आज प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घटनामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गरेका छन् ।
घटनापछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले घटनामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घटना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने बताएका हुन् । नेता रावलले घटनाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पंक्तिलाई पनि जानकारी गराइसकेको बताए ।
उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनाए । उनले भने,‘बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ताहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भए । बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरे । म यो घटनाको निन्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो ।’
रावलले सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग/अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको बताए ।
उनले भने,‘नेकपाको विवादसम्बन्धी सर्वोच्च अदालतले रिट निवेदकले माग दाबी गरेको भन्दा बढीनै फैसला दियो । तर, अदालतको फैसलालाई हामीले पालना गरेका छौं । नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । अहिले कम्युनिष्ट पार्टी आन्दोलनलाई क्षतविक्षत पार्ने षड्यन्त्र भैरहेको छ । विगतमा जे/जस्तो भएपनि यो आन्दोलनलाई सम्हाल्नुपर्छ । जोगाउनुपर्छ भनिएको छ । हामीले एमाले र माओवादी केन्द्रपनि अलग अलग हुँदा आ–आफ्नो पार्टीमा जाँदा, संयमित भएर जाने र काम गर्ने भनिएको छ । कार्यगत एकता गर्ने भनिएको छ ।’
कैलालीको धनगढीमा प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।