काठमाडौं । सरकारले यसवर्षको एसईईको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
कोभिडका कारण पाठ्यक्रम तथा विशिष्टिकृत तालिका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा सैद्धान्तिक परीक्षा कार्यक्रम गर्न सम्भव नभएकोले सरकारले वैकल्पिक विधि अपनाएको उनले बताए ।
शिक्षा मन्त्री श्रेष्ठका अनुसार विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनको विवरण सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने छ ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो । यस वर्षको एसईई जेठ १३ गतेदेखि गर्ने भनिएपनि करोना महामारीका कारण हुन सकेको थिएन । महामारीका कारण गत वर्ष पनि आन्तरिक मूल्यांकन विधिबाटै एसईई नतिजा सार्वजनिक गरिएको थियो ।