काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा छलफल सकारात्मक रुपमा अघि बढेको नेताहरुले बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा छलफल सकारात्मकरुपमा अघि बढेको नेताहरुले बताएका हुन् ।
बैठकपछि सचिव प्रदीप ज्ञवालीले विवाद समाधानतर्फ उन्मुख भएको भन्दै भोलि फेरि बैठक बसेर टुंग्याइने जानकारी दिएका छन् । उनले भने,‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ।’
लामो समयदेखि निष्क्रिय रहँदै आएको कार्यदल तीन दिनदेखि छलफलमा जुटेको छ । कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपालकातर्फबाट उपाध्यक्ष डा. भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, तथा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल र बिष्णु रिमाल रहेका छन् ।