काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला भौतिक उपस्थितिमै त्रिविलगायतका परीक्षा सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार साँझ प्रधानमन्त्रीलाई भेटेर थापाले त्यसबारे ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्रीले यो विषयलाई गम्भीरताकासाथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने विश्वास दिलाउनु भएको थापाले बताएका छन् ।
उनले भने, ‘वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका छन् । एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्।’
थापाले एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको कुरा गरिरहेको र अर्कोतिर यसरी परीक्षा संचालन गरेर संक्रमणको जोखिम बढाएको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने ? कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ ! तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।’