काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले वर्तमान सरकारले जनतामाथि दमन, अत्याचार र शोषण गरेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ ।
असोज १ र २ गते काठमाडौंमा सम्पन्न अनेरास्ववियुको तेस्रो नीति तथा विधान महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुले विश्वविद्यालयमा राज्य समर्थित गुण्डागर्दी भएको भन्दै यसको समेत भण्डाफोर गर्ने जनाएको छ ।
त्यस्तै सार्वजनिक शिक्षाको गुणस्तर बढाउन दबाबमूलक, रचनात्मक आन्दोलन गर्ने र महँगी, कालाबजारी, भ्रष्टाचार विरुद्ध आन्दोलन गर्ने निर्णय पनि संगठनले गरेको छ । त्यस्तै इन्धनको मुल्यलाई बैज्ञानिक तथा स्वचालित प्रणाली कायम गरी वस्तुबजार अनुगमन गर्न पनि महाधिवेशनले माग गरेको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन्।
उनले आागमी निर्वाचन धाधली रहित र निष्पक्ष रुपमा सम्पन्न गराउन पनि माग गरेको बताइन्। उनले संविधानको कार्यान्वयन गराउनका लागि र शिक्षालाई लगानी बढाउनका लागि पनि संघर्ष गर्ने उल्लेख गरिन् उनले विश्वविद्यालयको पाठ्यक्रमलाई समयानूकल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए।
महाधिवेशनले अध्यक्ष बरालको संयोजकत्वमा ११ हजार १ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी निर्माण पनि गरेको अनेरास्ववियुले जानकारी दिएको छ।