पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थागित गर्ने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री, मन्त्री, वार्ता समितिबीचको संयुक्त बैठकले राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली एक महिनालाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
एक महिनाको समयमा यातायात व्यवसायीसँग वार्ताका लागि बैठक बस्ने र समस्या समाधान गरेर यसलाई पुनः कार्यान्वयन गरिने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले जानकारी दिए ।
संघीय सरकारले मंगलबार दिउँसो गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र पठाउँदै सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको भन्दै नियमावलीमा उल्लेखित प्रावधान कार्यान्वयन हाललाई स्थगित गर्न आग्रह गरेको थियो ।