काठमाडौं । नेपालमा कोरोना संक्रमित मध्ये दश जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । बिहीबार एकैदिन तीन जना डिस्चार्ज भएका छन् । बिहीबार निको भएर घर फर्किनेमा काठमाडांैको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया महिला र उनका ५८ वर्षीय छोरा छन् ।
बेलायतको लण्डनबाट आएका उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । निको भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । त्यसैगरी धनगढीकी ६५ वर्षीया महिला पनि बिहीबारै निको भइ अस्पतालबाट डिस्चार्ज भएकी छन् । वीरगंजमा चिया व्यापार गर्ने उनमा धनगढीमा गएका बेला कोरोना पोजेटिभ देखिएको थियो ।
योसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या दश पुगेको छ । अन्य ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।