• Thu. Oct 22nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

Spread the love

काठमाडौँ — एक महिनादेखि जारी लकडाउनको अबको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक बस्दैछ । ११ बजे सिंहदरबारमा बस्ने बैठकले लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने विषयमा छलफल गर्नेछ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई कसरी लैजाने भन्ने बारे छलफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नयाँ मोडालिटीबारे छलफल गरी प्रस्ताव ल्याउन उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका थिए ।

उच्चस्तरीय समितिका सदस्य एक मन्त्रीका अनुसार शुक्रबार मन्त्रिपरिषद्‍मा लकडाउनलाई खुकुलो बनाउने कि कडा बनाउने भन्ने बारे छलफल भएको थियो । उनका अनुसार कोरोना संक्रमणको अवस्था हेरेर विभिन्न स्थानको वर्गीकरण गरी त्यसै अनुसार फरक फरक नीति लिने मोडालिटीमा छलफल भएको छ ।

यसअनुसार उदयपुर, पर्सा लगायतका संक्रमण देखिएका क्षेत्रलाई १ संवेदनशील क्षेत्र मानिएको छ । यो क्षेत्रमा लकडाउन झन् कडा बनाउने । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी थप्ने र यसमा केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने । यो क्षेत्रमा परीक्षण पनि व्यापक मात्रामा बढाउने तयारी सरकारको छ ।

यो मोडालिटीमा जाँदा दोस्रो नम्बरमा सुदूरपश्चित र कर्णाली प्रदेशका लागि अर्कै रणनीति अपानाइनेछ । यो क्षेत्रमा संक्रमण छैन तर परीक्षण हुन बाँकी ठूलो समूह छ । यसैले यहाँ परीक्षण अझै बढाउने र लकडाउन पनि तुरुन्तै खुकुलो नपार्ने रणनीति सरकारले लिन सक्छ ।

तेस्रो नम्बरमा काठमाडौं र पोखरालगायतका ठूला सहरहरु छन् । यी सहरहरु जहाँ संक्रमित छैनन् तर आर्थिक कारोबारका यी केन्द्रहरु हुन् । यी स्थानमा कडा अनुगमनका साथ लकडाउन खुकुलो बनाउनु पर्ने प्रस्ताव केही मन्त्रीहरुको छ । जिल्ला र प्रदेश तथा सहरबाट बाहिर आवतजावत गर्न नदिने तर उद्योग धन्दा, कलकारखाना र केही आवश्यक सेवा क्षेत्रलाई खुकुलो बनाउनु पर्ने उनीहरुको भनाई छ । स्रोतका अनुसार अर्थमन्त्री युवराज खतिवडा पनि यसकै पक्षमा छन् । उनले लामो समय कडा लकडाउन गर्दा अर्थतन्त्र डगमगाउने बताएका छन् ।

यी सबै प्रस्ताव र मोडलहरुबारे उच्चस्तरीय समितिमा छलफल हुनेछन् । छिमेकी भारतमा अझै एक साता लकडाउन रहेकाले त्यति अवधिसम्म लकडाउन थप्नुपर्ने मत पनि एकथरीको छ । अन्तर्राष्ट्रिय सीमा र हवाई उडान तथा लामो दूरीका सवारी साधानलाई भने अझै केही समय बन्द नै गर्नुपर्ने प्रस्ताव छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *