कोभिड १९ महामारीका कारण मृत्यु हुने मानिसको सङ्ख्या दुई लाख नाघेको भए पनि यसको कारक विषाणु कोरोनाभाइरस नियन्त्रण गर्न चिकित्सकहरूलाई सघाउन सक्ने औषधि प्रमाणित भइसकेको छैन । अहिलेसम्म हामी जीवनरक्षक औषधिको विकासमा कुन अवस्थामा छौँ त ?
उपचार पत्ता लगाउन के भइरहेको छ ?
अहिलेसम्म १५० भन्दा बढी औषधिबारे विभिन्न अनुसन्धान भइरहेका छन् । भाइरसविरुद्ध परीक्षण भइरहेका अधिकांश औषधिहरू अहिले चलनचल्तीमै भएकाऔषधि हुन् । विश्व स्वास्थ्य सङ्गठनले सबैभन्दा प्रभावकारी उपचारको मूल्याङ्कनका लागि बहुदेशीय ’सलिड्यारटी ट्रायल’को घोषणा गरेको छ । संयुक्त अधिराज्यले आफ्नो उपचारसम्बन्धी परीक्षणमा ५ हजार भन्दा बढी मानिसले सहभागिता जनाइसकेको जनाएको छ । कैयौँ अनुसन्धान केन्द्रहरूले निको भएका व्यक्तिहरूको रगतलाई उपचारमा प्रयोग गर्न खोजिरहेका छन् ।
सबैभन्दा प्रभावशाली हुन सक्ने औषधि कुन हो ?
चीन भ्रमण गरेका विश्व स्वास्थ्य सङ्गठनका डा. ब्रूस एल्वर्डका अनुसार अहिलेसम्म प्रभावकारी हुने सङ्केत देखाएको एउटै औषधि ’रेम्डेसिभिर’ हो । यो भाइरसविरुद्धको औषधि सुरुमा इबोलाको उपचारका लागि विकास गरिएको थियो तर अरू विकल्पभन्दा यो बढी प्रभावकारी देखिएको छ । जनावरहरूमा गरिएको अध्ययनमा अरू खतरनाक कोरोनाभाइरसहरू ( जस्तै मार्स भनिने मिडल ईस्ट रेस्पिरटरी सिन्ड्रोम र सार्स भनिने सभीअर अक्यूट रेस्पिरटरी सिन्ड्रोम ( विरुद्ध यो औषधि प्रभावकारी देखिएको थियो । त्यसैले कोभिड १९ नियन्त्रणका लागि पनि यसबाट बढी आशा राखिएको छ । यूनिभर्सिटी अफ शिकागोमार्फत् गरिएको परीक्षणबारे चुहिएर बाहिरिएको सूचनाले पनि उक्त औषधि प्रभावकारी रहेको देखाएको छ । डब्ल्यूएचओको सलिड्यारटी ट्रायलमा रहेको चार औषधिमध्ये यो पनि छ ।
के एचआईभीको औषधिले कोरोनाभाइरसको उपचार गर्न सक्छ?
धेरै चर्चा भएपनि एचआईभीको उपचारमा प्रयोग हुने लोपिनिभिर र राइटोनिभिर कोरोनाभाइरसको उपचारमा पनि उपयुक्त हुने भन्ने विषयमा खासै प्रमाण फेला परेका छैनन् । केही प्रमाणहरूमा प्रयोगशालामा उनीहरूले राम्रो नतिजा दिएको देखिन्छ तर मानिसमा गरिएका अध्ययनमा निराशाजनक परिणाम देखिएका छन् । यी औषधिहरूको संयुक्त प्रयोगले निको हुने वा मृतकको सङ्ख्या घट्ने वा गम्भीर प्रकारका कोभिड १९ भएका बिरामीमा सङ्क्रमणको तह घटाएको नपाइएको भनिएको छ । एकदमै गम्भीर रूपमा बिरामी भएका व्यक्तिमा परीक्षण गरिएका हुनाले सङ्क्रमणको तह बढिसकेका हुनाले ती औषधिहरूले काम नगरेका हुन सक्छन् । परीक्षणमा सहभागीमध्ये एकचौथाइको ज्यान गएको थियो ।
के औलोको औषधिले कोरोनाभाइरस नियन्त्रण गर्न सक्छ?
औलोको औषधिलाई सलिड्यारटी र रिकभरी ट्रायल दुवै विधिमा परीक्षण गरिँदैछ । क्लोरोक्वाईन र त्यससँग सम्बन्धित हाइड्रोक्सीक्लोरोक्वाईनसँग भाइरस नियन्त्रण र प्रतिरोधी दुवै क्षमता हुन सक्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको सम्भावित औषधिका रूपमा प्रस्तुत गरेपछि चर्चामा भएपनि यी प्रभावकारी हुन सक्ने पर्याप्त प्रमाण छैन । हाइड्रोक्सीक्लोरक्वाईन हाडजोर्नी सुनिने रोग आर्थ्राईटिसको उपचारमा पनि प्रयोग गरिन्छ। यो औषधिले शरीरको प्रतिरोधी क्षमतालाई नियमन गर्न सक्छ । प्रयोगशाला परीक्षणले यसले कोरोनाभाइरसलाई विस्तार हुनबाट रोक्न सक्ने देखाएको छ र केही चिकित्सकहरूबाट ’भनिएका सुनिएका’ प्रमाणले यसले बिरामीलाई सहयोग गरेको जस्तो देखिएको पाइएको छ । डब्ल्यूएचओले यसको प्रभावकारिताबारे ठोस प्रमाण नरहेको जनाएको छ ।
प्रतिरोधी औषधिबारे के भइरहेको छ ?
यदि प्रतिरोधी प्रणालीले भाइरसका कारण चाहिनेभन्दा बढी प्रतिक्रिया जनाए सङ्क्रमण शरीरभरि फैलिन्छ । सङ्क्रमणविरुद्ध प्रतिरोधी प्रणाली एक ठाउँमा उभिए पनि धेरै प्रतिक्रिया जनाउँदा त्यसको परिणाम घातक पनि हुन सक्छ । सलिड्यारटी ट्रायलअन्तर्गत मस्तिष्क र मेरुदण्डसँग सम्बन्धित मल्टिपल स्क्लरोसिसको उपचारमा प्रयोग हुने ’इन्टर्फीरन बीटा’ नामक औषधिको परीक्षण भइरहेको छ । मानिसको शरीरमा भाइरस प्रवेश गरेपछि प्रतिरोध प्रणालीले बनाउने जैविक रसायनको समूह इन्टर्फीरन हो । यूकेको रिकभरी ट्रायलमा डेक्सामिथासोन नामक औषधिको परीक्षण गरिँदैछ जुन शरीरमा देखिने सुनिने समस्या कम गर्न प्रयोग गरिन्छ।
के निको भएका व्यक्तिको रगतबाट कोरोनाभाइरसको उपचार गर्न सकिन्छ ?
सङ्क्रमणबाट निको भएका व्यक्तिको रगतमा एन्टीबडीहरू हुन्छन् जसले भाइरससँग सङ्घर्ष गर्न सक्छन् । यो उपचारविधिमा त्यस्ता एन्टीबडीयुक्त प्लाज्मा बिरामीको रक्तप्रवाहमा पठाइन्छ । अमेरिकाले ५ सय जनाजति बिरामीलाई ’कन्भलेसन्ट प्लाज्मा’ भनिने यो विधिबाट उपचार गरिसकेको छ । अरू देशले पनि यो विधि प्रयोग गर्न थालेका छन् ।
कहिलेसम्म उपचार पत्ता लाग्ला ?
अहिले नै कोरोनाभाइरस निको हुने औषधि कहिले पत्ता लाग्ला भन्न सकिने अवस्था छैन । कोभिड १९ को खोप बनाउन भारतले कसरी महत्वपूर्ण भूमिका खेल्नेछ । तर आगामी केही महिनामा परीक्षणको परिणाम देखिन थाल्नेछ। खोपको प्रभावकारिता थाहा पाउनुभन्दा धेरै अगाडि नै औषधिबारे जानकारी पाउने अपेक्षा गरिएको छ । किनभने चिकित्सकहरूले पहिला नै विकासित भइसकेका र प्रयोग गर्न सुरक्षित ठानिएका औषधिको परीक्षण गरिरहेका छन् । तर खोपका अनुसन्धानकर्ताहरूले शून्यबाट आफ्नो काम अघि बढाइरहेका छन् । कतिपय पूर्ण रूपमा नयाँ कोरोनाभाइरसका औषधिहरूको पनि प्रयोगशालामा परीक्षण भइरहेको छ। तर ती मानवमा परीक्षणका लागि तयार भइसकेका छैनन् ।